काठमाडौं– नजिकिँदो चाडबाडका लागि लत्ताकपडा लगायतका सामान बोकेर छुटेका झन्डै ४ सय ट्याकंर/ट्रक चिनियाँ नाकामा अलपत्र परेका छन्। चाडबाडका लागि आवश्यक ठूलो परिमाणमा सामान लोड भएका सवारी अलपत्र पर्दा बजारमा ती वस्तुको अभाव सुरु भएको छ।
नेपाल हिमालयन सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलका अनुसार डेढ महिनादेखि ती सवारी सीमा नाकामा अलपत्र छन्। बर्सातले पहिरो लगायतका कारण सडक बिग्रिएर लामो समय सवारी चल्ने अवस्था थिएन। अवरोध हटे पनि ती सामान ल्याउन नसकिएको उनले बताए ।
सडक मर्मत भएर एक सातायता सहज अवस्था बनिसके पनि सामान छुट्न सकेका छैनन्। ‘सामान छुटाउने प्रयास भइरहेको छ,’ पौडेलले भने।
पछिल्लो समय सरकारले भन्सार मूल्यांकन बढाएका कारण व्यवसायीले ढुवानी गर्न आनाकानी गरिरहेका व्यापारीहरू बताउँछन्।
केही दिनअघि सरकारले भन्सार मूल्यांकन ४० प्रतिशतसम्म वृद्धि गरेको थियो। यसैको विरोधमा व्यवसायीले ढुवानीमा अवरोध गरेका ती व्यापारीले बताए। सरकारले भन्सार नाकामा कडाइ गर्न थालेका कारण यसअघि न्यून बिजकीकरण लगायतका मनपरी गर्दै आएका व्यापारीले अवरोध गरेका अर्का एक व्यापारीले बताए।
‘सामान रोकिँदा बजारको आपूर्तिमा असर परेको छ,’ एकता व्यापार संघका महासचिव भेषराज पौडेलले भने।
लोड भएका बाहेक करिब २ हजार ५ सयजति सवारी गोदाममा अलपत्र रहेका उनले बताए।
रसुवागढी भन्सार कार्यालय प्रमुख गोपाल कोइरालाले भने केही दिनयता मात्रै सामान रोकिएको दाबी गरे। रोकिएका सवारी भोलि (मंगलबार) देखि नै सुचारु हुने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।