काठमाडौं– नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच मंगलबार दिउँसो शिष्टाचार भेटवार्ता भएको छ।
गृह मन्त्रालयको सभाकक्ष, सिंहदरबारमा भएको भेटवार्तामा नेपालको आर्थिक-सामाजिक विकासको प्राथमिकता र त्यसपक्षमा राष्ट्रसंघको भूमिकाबारे खुलेर छलफल भएको थियो।
त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले जलवायु परिवर्तनले नेपालजस्तो पर्वतीय देशलाई बढी जोखिममा पारिरहेको र त्यसको नियन्त्रणमा राष्ट्रसंघले चालेका कदमबारे जिज्ञासा राखेका थिए।
जवाफमा महासचिव गुटेरेसले ‘राष्ट्रसंघीय जलवायु परिवर्तन सहयोग कोष’को पुनर्संरचना गरी प्रभावित मुलुकका लागि कोषको वृद्धि गरिने बताए। त्यस्तै उनले जलवायु परिवर्तन बहुप्रकोपीय जोखिम पूर्वसूचना प्रणाली स्थापनामासमेत सहयोग गरिने बताए।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाल राजनीतिक परिवर्तनपछि गुणात्मक आर्थिक-सामाजिक न्यायसहित विकासको फड्कोमा अगाडि बढ्न खोजिरहेको र वर्तमान सरकारका प्राथमिकताहरू त्यसमै केन्द्रित रहेको बताए।
महासचिव गुटेरेसले राजनीतिक, सामाजिक र आर्थिक विकास एवम् अभियानहरू परिपुरक भएको र नेपालले दीगो विकास, शान्ति स्थापना र शान्ति प्रक्रियाको निष्कर्षका लागि उदाहरणीय अभ्यास गरिरहेकोमा प्रशंसा गरे।
आजै लुम्बिनी भ्रमण गरी आउनुभएका महासचिव गुटेरेसप्रति बुद्धभूमिलाई महत्त्व दिएकोमा उपप्रधानमन्त्री श्रेष्ठले हार्दिकता प्रकट गरे। नेपालले ध्यानलाई अभियानका रुपमा राष्ट्रसंघसम्मै पुर्याएर शान्ति तथा बुद्धको सन्देश स्थापित गर्न खोजेको र यहाँका सबै राजनीतिक पक्षको सहमतिसहित एकदिने ध्यान शिविर तय गरिने जानकारीसमेत उनले दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।