काठमाडौं- सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले आगामी मंसिर २२ गते काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय लिएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकले लिएको निर्णयबारे परिपत्र पनि गरेको छ। माओवादी केन्द्रको जारी विशेष अभियानकै क्रममा पार्टीको बागमती प्रदेश, जवस सम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा जनप्रदर्शन गर्न लागिएको हो।
निर्णयबारे जानकारी दिन आयोजित परिपत्रमा भनिएको छ, 'अभियानकै क्रममा पार्टीको बागमती प्रदेश, जवस सम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा यही मंसिर २२ गते काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाधिनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर जनप्रदर्शन गर्न र गराउन पहल गर्ने निश्चित गरिएको छ।'
माओवादी केन्द्रका महासचिव देव गुरुङले पार्टीको अभियान चलिरहेकाले त्यसको अन्तिममा जनप्रदर्शनका कार्यक्रमहरू गर्ने, सभाहरु गर्ने भनेर पहिल्यै भनेको र त्यसक्रममा काठमाडौंको कार्यक्रम चाहिँ एकै ठाउँमा गर्न लागेको बताए। 'विरोध प्रदर्शन होइन, जनप्रदर्शन हो', उनले भने, 'जनप्रदर्शन भन्नु र विरोध प्रदर्शन भन्नुमा फरक छ।'
केही हप्ताअघिसम्म प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बर्खा सकिए लगत्तै सडकमा लाखौँ मान्छे उतार्ने बताएका थिए। राष्ट्रियता, जनजीविका र सामाजिक न्यायको पक्षमा तथा भ्रष्टाचारको जग हल्लाउन मान्छे उतार्ने उनको उद्घोष थियो। यसै पृष्ठभूमिमा माओवादी केन्द्रले जनप्रदर्शन गर्न लागेको हो।
माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले भने मंसिर २२ गते काठमाडौंमा सडक प्रदर्शन समेत हुने बताए। प्रचण्डको अभिव्यक्तिदेखि सापकोटाको प्रतिक्रियासम्म जोडेर हेर्दा जनप्रदर्शनका नाममा सडकमा शक्ति प्रदर्शन गर्न लागिएको आभाष दिन्छ। सरकारको नेतृत्व गरेको दलले प्रभावकारी काम गरेर व्यवस्थाको औचित्य पुष्टि गर्नेतर्फ ध्यान दिनुको सट्टा सडकमा मान्छे उतारेर व्यवस्थाको रक्षा गर्ने कमजोर तर्क अघि सारेको भन्दै आलोचना भइरहेको छ।
गुरुङ भने जनप्रदर्शन यसअघि सरकारका भएका बेलामा कांग्रेस र एमाले जस्ता पार्टीले पनि गर्ने गरेको भन्दै आफूहरूको प्रदर्शन स्वभाविक भएको बताउँछन्। उनले जनप्रदर्शनका क्रममा सरकारका विरुद्ध कार्यक्रम नगर्ने बताए। 'यो कसैको विरोध र समर्थनभन्दा पनि विचारको कुरा जनतामाझ लैजाने कुरा हो', उनले भने।
प्रतिनिधि सभामा न्यून सिट संख्या भएता पनि सरकारको नेतृत्व गरिरहेको पार्टीले कतिबेला सत्ताबाट हट्नुपर्ने हो भन्ने अन्यौल रहिरहेको बेलामा प्रधानमन्त्री प्रचण्डले बेलाबखत विभिन्न अस्त्रमार्फत् सत्ता साझेदार दल र विपक्षी पार्टीमाथि दबाब सिर्जना गर्ने गरेका छन्। सडकमा मान्छे उतार्ने भनेर उनले गरेको घोषणा र पछिल्लो निर्णयलाई त्यही रुपमा बुझ्न सकिन्छ। यसले कतै माओवादी नेतृत्वको सरकार संकटउन्मुख भइसकेको त होइन भनेर आशंका पनि थपिएको छ।
सरकारबाट बाहिरिनुपर्ने संकेत पाएर जनप्रदर्शनको निर्णय लिइएको आशंकालाई प्रवक्ता सापकोटा अस्वीकार गर्छन्। भन्छन्, 'यस्तो होइन। सरकारबाट बाहिरिनुपर्ने कुनै कारण वा संकेत छैन। सरकारमा बसेर पनि राम्रो काम गरेका छौँ। राम्रो कामको प्रचार गर्न र जनतालाई बुझाउन पनि यो प्रर्दशन आयोजना गरिएको हो। मूलतः गणतन्त्रको रक्षा र अहिलेको उपलब्धिहरूको रक्षाका लागि यस्तो निर्णय गरिएको हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।