काठमाडौं- तस्करीको सुन कारोबार गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। गत आइतबार दिउँसो प्रहरीले काठमाडौं महानगरपालिका–९ सिनामंगल शम्भुमार्गबाट पाँच जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा भोजपुर सालपासिलिछो गाउँपालिका–४ ठेगाना भएका २४ वर्षीय अमृतधन राई, सुनसरी इनरूवा नगरपालिका–९ ठेगाना भएका ४४ वर्षीय नजिर मन्सुर, धनुषा हंसपुर नगरपालिका–८ ठेगाना भएका ४९ वर्षीय कारी इसार केवट, खोटाङ रूपाकोट मजुवागढी नगरपालिका–१५ ठेगाना भएका २८ वर्षीय अर्जुन भट्टराई र गोरखा गण्डकी गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने ३० वर्षीय अनिष थापा रहेका छन्।
कतारबाट आएका केही व्यक्तिहरूले भन्सार छलेर अवैध रूपमा सुन ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवन काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरुबाट २ सय १४ ग्राम ३६ मिलिग्राम तौल भएको सुनको ढिक्का ३ थान, जम्मा ५० ग्राम ०१ मिलिग्राम तौल भएको सिक्री ३ थान र नगद १ लाख १० हजार रूपैयाँ बरामद भएको थियो।
उनीहरूलाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसूरमा आवश्यक कारबाही तथा अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।