काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आफ्नो चार दिने नेपाल भ्रमणका लागि २०८० कात्तिक ११ गते राति (१२ गते आइतबार बिहान १ बजे) काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए। उनलाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०२३ सेप्टेम्बर १७ मा संयुक्त राष्ट्रसंघको ७८औं महासभामा दिएको नेपाल भ्रमणको निम्तो स्वीकार गर्दै उनी नेपाल आएका हुन्।
महासचिव गुटेरेसले आइतबार दिउँसो सिंहदरबारबाट उच्चस्तरीय राजनीतिक भेटवार्ताको सुरुवात गरेका थिए। त्यहाँ उनले परराष्ट्रमन्त्री एनपी साउद र उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग शिष्टाचार भेट गरेका थिए। गुटेरेसले प्रत्येक मन्त्रीलाई १५ मिनेटका दरले भेटेका थिए।
उनले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटे। गुटेरेसलाई प्रधानमन्त्री कार्यालयमा मुख्यसचिव वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गरेका थिए। भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियाको बाँकी कामलाई टुङ्गोमा पुर्याउन महासचिव गुटेरेसको महत्वपूर्ण भूमिका हुने कुरा गरेको बताए। त्यस्तै गुटेरेसले बाँकी रहेको शान्ति प्रक्रियाको काम पूरा गर्न संयुक्त राष्ट्रसंघले नेपाललाई सघाउन तयार रहेको बताए।
त्यस्तै, गुटेरेस र सभामुख देवराज घिमिरेबीच नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भेट भयो। भेटमा घिमिरेले नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको बताएका थिए। उनले निकट समयमै दुवै आयोगसम्बन्धी ऐन निर्माण गर्ने बताए। गुटेरेसले भने नेपालको संक्रमणकालीन न्याय प्रक्रियालाई सहयोग गर्न राष्ट्रसंघ तयार रहेको बताएका थिए।
महासचिव गुटेरेस र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि संसद् भवनमै भेट भयो। भेटमा देउवाका अतिरिक्त कांग्रेस उपसभापति एवम् कानुनमन्त्री धनराज गुरुङ, परराष्ट्रमन्त्री एनपी साउद, नेता शेखर कोइराला लगायत सहभागी थिए। भेटवार्तामा नेपालको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तन लगायतका विषयमा छलफल भएको थियो। नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघले निर्वाह गरेको भूमिकाप्रति सभापति देउवाले प्रशंसा गर्नुका साथै जलवायु परिवर्तनले नेपाल जस्तो अल्पविकसित मुलुकलाई पारेको गहिरो असरबारे अवगत गराएका थिए।
![Ncell 2](https://nepallive.net/uploads/bigyaapan/61456500.jpg)
![Ncell 2](https://nepallive.net/uploads/bigyaapan/61475300.jpg)
गुटेरेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि संसद् भवनमा भेटेका थिए। भेटमा ओलीका अतिरिक्त एमाले नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, राजन भट्टराई लगायत सहभागी थिए। भेटमा गुटेरेसले शान्तिका संवाहक गौतम बुद्धको जन्मस्थल, शान्ति सेना योगदान गर्ने दोस्रो ठूलो योगदानकर्ता र शान्ति प्रक्रिया सफलतापूर्वक अगाडि बढाएकोमा नेपालको प्रशंसा गरेका थिए। ओलीले भने नेपालको शान्ति प्रक्रिया मौलिक र देशभित्रकै शक्तिहरूको अगुवाइमा भएको बताउँदै संक्रमणकालीन न्यायको विषय छिटो टुङ्ग्याउन चाहेको, तर यो ‘संक्रमणकालीन अन्याय’ चाहिँ हुन नहुनेमा जोड दिएका थिए।
आइतबारै गुटरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेट गरेका छन्। गुटेरेस राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए। भेटमा राष्ट्रपतिले लामो समयदेखि नेपालको विकास साझेदारको रूपमा रहेको संयुक्त राष्ट्रसंघलाई नेपालले उच्च प्राथमिकता तथा महत्त्वमा राखेको कुरा बताउँदै संयुक्त राष्ट्रसंघ तथा यस अन्तर्गतका विशिष्टकृत एजेन्सी, कोष तथा कार्यक्रमले नेपालको सामाजिक, आर्थिक विकास एवं दिगो विकास लक्ष्य प्राप्तिमा पुर्याएको निरन्तर सहयोग र योगदानका लागि धन्यवाद व्यक्त गरेका थिए।
साँझ गुटरेस ललितपुरस्थित पाटन दरबार स्क्वायर पुगेका थिए। त्यहाँ उनलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगायतले स्वागत गरेका थिए। उनको स्वागतमा सांस्कृतिक नाचगान प्रस्तुत गरिएको थियो।
साँझ भने उनी प्रधानमन्त्री प्रचण्डले उनको सम्मानमा आयोजना गरेको सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजमा सहभागी भए। रात्रिभोज होटल सोल्टीमा आयोजना गरिएको हो। भोजमा विभिन्न राजनीतिक दलहरुका शीर्ष नेताहरू पनि सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।