काठमाडौं- दक्षिणी इजरायलको किबुचमा प्रशिक्षणमा रहेका बेला आतङ्कवादी समूह (हमास) को आक्रमण परी ज्यान गुमाएका तीन जना नेपाली विद्यार्थीको शव पहिचान भएको छ।
तेलअबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव आइतबार पहिचान भएको हो। योसँगै ८ जना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको छ। बाँकी दुई जनाको शव पहिचानका क्रममा रहेको छ।
इजरायल सरकारले उपलब्ध सम्पूर्ण संयन्त्रको प्रयोग गरी सम्पर्कविहीन भएका विपिन जोशीको खोजी जारी रहेको दूतावासलाई जानकारी दिएको उक्त दूतावासले केहीबेरअघि जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।
हमासको आक्रमणमा परी घाइते भएका चार जना विद्यार्थीमध्ये दुई जनालाई अस्पतालबाट ‘डिस्चार्ज’ गरिएको छ। डिस्चार्ज गरिएकामध्ये एक जना नेपाल आइसकेका र अर्का एक जना दूतावासको रेखदेखमा रहेका छन्। साथै अन्य दुई जनाको इजरायलमा उपचार भइरहेको छ।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।