काठमाडौं- पूर्व सभामुख अग्निप्रसाद सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सहजीकरण गर्ने बताएका छन्।
महासचिव गुटेरेसले संसद्मा गर्ने सम्बोधनलाई सबैले आत्मसात गर्ने उल्लेख गर्दै गुटेरेसले त्यसबाट शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि प्रभावकारी ढंगले सहजीकरण गर्न सक्ने विश्वास उनले व्यक्त गरे। पूर्वसभामुख सापकोटाले शान्ति प्रक्रियाका बाँकी कामहरु पीडितको समेत सहमतिमा निष्कर्षमा पुर्याउनुपर्ने भन्दै यो भ्रमणले बाँकी काम पूरा गर्न अन्तर्राष्ट्रिय वातावरण बनाउनका लागि पनि भूमिका खेल्ने बताए।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बसिरहेको बेलामा महासचिव नेपाल भ्रमणमा आउनुले नेपाल भ्रमणलाई उच्च महत्व दिएको कुरा स्पष्ट भएको पनि सापकोटाको भनाइ छ।
‘यो बेलामा संयुक्त राष्ट्रसंघको महासचिव नेपाल आउनु भनेको नेपालका लागि धेरै ठूलो अवसर हो। यस्तो बेलामा उहाँ नेपाल आउनुभएको छ कि अहिले पनि सुरक्षा परिषद्को बैठक बसिरहेको छ। त्यस्तो बेलामा उहाँ आउनुभएको छ। यसबाट के बुझिन्छ भने उहाँले नेपालको भ्रमणलाई उच्च महत्व दिनुभएको छ,’ सापकोटाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।