काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र परराष्ट्र मन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ। आइतबार बिहान काठमाडौं आइपुगेका महासचिव गुटरेस र मन्त्री साउदबीच आइतबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको हो।
परराष्ट्र मन्त्री साउदसँग भेटघाटका लागि परराष्ट्र मन्त्रालय पुगेका गुटेरेसलाई सहसचिव सेवा लम्सालले स्वागत गरेकी थिइन्। यसपछि महासचिव गुटरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई भेट्ने कार्यतालिका रहेको छ।
त्यस्तै, गुटेरेसले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ। उनले आइतबार साँझ राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्नेछन्।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आज भेटवार्ताका लागि तय भएको पूर्वनिर्धारित कार्यक्रम भने पर्सि मंगलबारका लागि सरेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।