काठमाडौं– सिजन २०२३/२४ को पहिलो इएल क्लासिको रियल मड्रिडले जितेको छ। नेपाली समयअनुसार शनिबार राति ८ बजे भएको खेलमा रियल मड्रिडले घरेलु टोली बार्सिलोनामाथि २–१ को जित निकाल्यो।
खेलको छैटौं मिनेटमै बार्सिलोनाका मिडफिल्डर इल्के गुन्डोगानको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो। पहिलो हाफ १–० को अग्रता बनाएको बार्सिलोना दोस्रो हाफमा सम्हालिन नसिक्दा २ गोल खाँदै हार ब्यहोर्यो।
दोस्रो हाफमा बेलिङ्घम चम्किएपछि बार्सिलोना स्तब्ध भयो। दोस्रो हाफको ६८ औं मिनेटमा रियल मड्रिडका बेलिङ्घमले डि–बक्स बाहिरबाट गरेको प्रहारले सोझै जाली चुमेपछि रियलले १–१ को बराबरी बनायो।
९० मिनेटपछिको अतिरिक्त समयमा पुनः बेलिङ्घमले नै गोल गरेपछि रियल मड्रिडले २–१ को जित निकाल्यो। जितसँगै ११ खेलबाट २८ अंकका साथ रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ।
समान २८ अंक भए पनि गोल अन्तरका आधारमा गिरोना दोस्रो स्थानमा छ। ११ खेलबाट २४ अंकका साथ बार्सिलोना तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।