एजेन्सी– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हमास आक्रमणको समर्थन गरेको आरोप लगाउने वरिष्ठ इजराइली कूटनीतिज्ञहरूले गरेको आकलनलाई स्पष्टरूपमा अस्वीकार गरेका छन्।
इजराइजली कूटनीतिज्ञहरूले सुरक्षा परिषद्मा अक्टोबर ७ मा हमाले गरेको आक्रमणलाई महासचिव गुटेरेसले समर्थन गरेको आरोप लगाएका थिए।
इजराइल र प्यालेस्टाइनको बीचमा बढ्दो संकटलाई लिएर मंगलबार भएको बैठकलाई सम्बोधन गर्दै सुयक्त राष्ट्रसंघका महासचिव गुटेरेसले हमासले गरेको ‘भीषण’ आक्रमण कुनै पनि हालतमा औचित्यपूर्ण हुन नसक्ने बताए।
उनले हमासले गरेको आक्रमणकै कारण गाजामा बमबारी र घेराबन्दी भएको भन्दै प्यालेस्टिनीहरू ‘शून्य अवस्थामा थिएनन्’ भन्ने पहिचान गर्नु महत्त्वपूर्ण हुने र उनीहरूलाई सामूहिक सजाय दिनु उचित नहुने बताए।
मंगलबार गुटेरेसको सम्बोधनपछि संयुक्त राष्ट्रसंघका लागि इजराइलका स्थायी प्रतितिधि गिलाड एर्डनले ट्वीट गर्दै भने, ‘महासचिवको सम्बोधनले हमासको क्रुर आक्रमणलाई औचित्यपूर्ण ठहर गर्न खोजेको थियो, हमास आक्रमणमा करिब एक हजार चार सय मानिस मारिए, जसमा सर्वसाधारण नै बढी थिए।’ उनले महासचिवको राजीनामासमेत माग गरेका थिए। यसका साथै महासचिव गुटेरेसको भिसासमेत रोक्ने चेतावनी दिएका थिए।
यस्तै इजराइलका विदेशमन्त्री एली कोहेनले पनि गुटेरेसले हमासको आतंकवादलाई समर्थन गरेको आरोप लगाए। साथै उनले मंगलबार महासचिवसँगको निर्धारित बैठक रद्द गरेका थिए।
बैठकपछि मंगलबार नै महासचिव गुटेरेसले हमासले बन्धक बनाएका केही परिवारलाई भेटे र गाजाभित्र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरी बन्दी बनाएका सबैको बिना सर्त रिहाइका लागि आह्वानसमेत गरेका थिए।
बुधबार बिहान सुरक्षा परिषद्बाबाहिर पत्रकारहरूसँग उनले भने, ‘मेरो केही भनाइलाई गलत तरिकाले प्रस्तुत गरिँदा म स्तब्ध भएको छु।’
आफूले वास्तवमै प्यालेस्टिनी गुनासोका बारेमा बोलेको उल्लेख गर्दै उनले प्यालेस्टिनी जनताको गुनासोले हमासको भयानक आक्रमणलाई न्याय दिन नसक्ने आफूले सुरक्षा परिषद्मा भनेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।