काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन वार्ता गरेका छन्। सो अवसरमा दुवै नेताहरूले गाजामा मानवीय सहायता र राहत सामग्रीको निरन्तर प्रवाह सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन्।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति बाइडेनले नेतन्याहुलाई गाजा र वरपरको क्षेत्रका घटनाक्रमबारे छलफल गर्न सम्पर्क गरेका हुन्। छलफलका क्रममा २ नेताले गाजा क्षेत्रमा मानवीय सहयोगको निरन्तर प्रवाह हुने कुराको सुनिश्चितता गर्नु भएकोमा जोड दिएका छन्।
राष्ट्रपति बाइडेनले हमासद्वारा अक्टोबर ७ मा भएको हमलापछि मानवीय सहायतालाई तीव्रता दिन पहल गरेका अमेरिकी राष्ट्रपति कार्यालयले दाबी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘मानवीय सहायताका प्याकेजहरू सहायता सिमाना पार गरी गाजामा पुगेको छ र आवश्यक परेका प्यालेस्टिनीहरूलाई वितरण गरिएको छ।’
साथै राष्ट्रपति बाइडेनले दुई अमेरिकी बन्धकहरूलाई रिहा गर्न इजरायलले गरेको प्रयासको प्रशंसा गरेका छन्। पारिवारिक स्रोतका अनुसार उनीहरू दक्षिणी इजरायलको किसान समुदाय नाहाल ओजमा आफन्तहरूलाई भेट्न गएका थिए । आमाको खराब स्वास्थ्यका कारण ‘मानवीय आधारमा’ उनीहरूको रिहा गरिएको थियो।
साथै दुई नेताहरूले हमासद्वारा कब्जामा लिएका अमेरिकी नागरिकहरू सहित बाँकी सबै बन्धकहरूलाई अझ सुरक्षित बनाउने प्रयासहरूबारे छलफल गर्दै गाजाका अन्य नागरिकहरूलाई पनि सुरक्षित मार्ग उपलब्ध गराउने तरिकाबारे विचार आदानप्रदान गर्नु गरेका छन्।
इजरायलले गाजा क्षेत्रमा हमासविरुद्ध आक्रमण जारी राखिरहेका बेला १४ ट्रक मानवीय राहतका सामग्रीहरू भरिएको रफाह क्रसिङ हुँदै सोमबार पट्टीमा प्रवेश गरेको सीएनएनले उल्लेख गरेको छ।
यी सहायता ट्रकहरू इजिप्टियन रेड क्रिसेन्ट र संयुक्त राष्ट्रसंघ द्वारा प्रायोजित रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।