काठमाडौं– भूकम्प जाँदा अत्तालिएर घर भित्रबाट बाहिर हाम फाल्दा गोरखामा १ जना महिला घाइते भएकी छन्। गोरखा नगरपालिका–३ नारेश्वर भोगटेनीकी ३० वर्षीया सरस्वती थापा घाइते भएकी हुन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार थापाको ढाड र खुट्टामा चोट लागेको छ। थापाको गोरखा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ।
अष्टमीको पूजाका लागि घरभित्र पूजाका भाँडाहरु माझिरहेको अवस्थामा भूकम्प गएपछि आत्तिएकी थापाले कोशीबाट हाम फालेकी थिइन्।
आइतबार बिहान धादिङक केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको थियो।
सुरुमा आइतबार बिहान ७:३९ बजे धादिङ केन्द्रविन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि धादिङ नै केन्द्रविन्दु बनाएर ८:०८ बजे ४.२ रेक्टर स्केल, ८:२८ बजे ४.३ रेक्टर स्केल र ८:५९ बजे ४.१ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ।
भूकम्पका कारण धादिङ र गोरखाका केही ठाउँमा पुराना घरहरु सामान्य चर्किएको विवरण प्राप्त भएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।