काठमाडाैं- २०६१ जेठ २४ मा चितवन रत्ननगरमा रहेका हजुरबुवा र हजुरआमालाई भेट्न आएका बेला गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या भयो। हत्या भएको ३ वर्षसम्म प्रहरीले जाहेर लिन र अनुसन्धान गर्न ताकेता गरेन। परिवारले पटकपटक किटानी जाहेरी दिँदासमेत प्रहरीले बेवास्ता गरिरह्यो।
तत्कालीन विद्रोही माओवादीले हत्याको जिम्मा लिएको थियो। तर कृष्णका दाजु र बाबुले हत्याविरुद्ध चितवन जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। जाहेरीविरुद्ध कुनै कारबाही भएको थिएन।
राज्य प्रशासनसँग केही जोर नलागेपछि अधिकारीका पिता नन्दप्रसाद अधिकारीले अनसन शुरु गरे। अनशन सुरु गरेपछि २०७० साउनबाट चितवन प्रहरीले अनुसन्धान बढाएको थियो। प्रहरीले अनुसन्धान पुरा गरे पनि मुद्दा चल्ने नचल्ने भन्ने विषयमा विवाद उठ्यो। उक्त प्ररकण महान्यायाधिवक्ता कार्यालयसम्म आइपुग्यो।
त्यसैबीच २०७० चैत ३० गते १३ जनालाई विपक्षी बनाउँदै मुद्दा दायर भयो। अदालतले पहिलो सुनुवाईमै सबै आरोपितलाई धरौटीमा रिहा गरे लगत्तै उक्त प्रकरण पुन विवादमा पर्याे। उक्त प्रकरण सर्वोच्चसम्म आइपुग्यो।
सर्वाेच्चले एक अभियुक्तलाई थुनामा राखी मुद्दाको सुनुवाई अघि बढाउने आदेश गरेपछि रोकिएको मुद्दा पुन सुरु भयो।
तर सुनुवाई सुस्त गतिमा भएको र पति नन्दप्रसाद अधिकारीको पनि अनसनकै क्रममा मृत्यु भएपनि गंगामाया अधिकारी वीर अस्पतालमै अनसन शुरु गरिन्। उनको अनसन लम्बिँदै गएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तमाङले उनको अनसन तोडाए।
त्यसको केही दिनपछि एक अभियुक्त छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसर्मपण गरे। सर्वोच्चले थुनामा राख्न भनु आदेश गरेका उनी सरकारसमक्ष आत्मसर्मपण गरे। उनी भेटिएपछि जिल्ला अदालतमा उक्त मुद्दाको सुनुवाई सुरु भयो। जिल्लाले किटानी जाहेरी दिने कृष्ण अधिकारीका दाजु नुरप्रसाद अधिकारीलाई उपस्थित हुन आदेश गर्याे।
वीर अस्पतालमा अनसन बसेकी गंगायायासँग पूर्व कानुनमन्त्री तमाङले मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई साक्षी राख्दै असार २९ गते सहमति गरे। उक्त सहमतिमा मुख्य अभियुक्त रुद्र आचार्यलाई नेपाल झिकाई मुद्दाको किनारा लगाउन मद्दत गर्ने उल्लेख थियो।
पौडेलको आत्मसर्मपण लगत्तै कानुन मन्त्रालयले परराष्ट्र मन्त्रालय अन्तर्गत बेलायत रहेका फरार अभियुक्त रुद्र आचार्यलाई नेपाल झिकाउन पत्र लेख्यो। रेट कर्नर नोटिस जारी भएका उनलाई नेपाल फर्काइदिन सहयोग मात्रै सरकारले साउन १५ गते अदालतको आदेशसहित पत्र लेखेको थियो। तर उनी नेपाल आइ नपुग्दै जिल्ला अदालतले फैसला सुनाएको छ। जिल्ला अदालतले उनको हकमा बाँकी राख्दै फैसला गरेको हो।
सरकारले २०७२ असोजमा गरेको पाँच बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएपछि गंगामाया अधिकारीले अनसन तोडेकी थिइन्। १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई आजीवन काराबासको सजाय माग गर्दै उनी गत जेठ १५ गतेदेखि अनसन बसेकी थिइन्।
अनसनकै क्रममा गंगामायाका पति नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते मृत्यु भएको थियो। युद्धकालमा छोरा र अनसनकै क्रममा पति गुमाएपछि गंगामायाले माग पूरा नभएसम्म अनसन नतोड्ने अडान राखेकी थिइन्।
चितवनको जयमंगलास्थित हजुरबुबाको घर आएका बेला २०६१ जेठ २४ गते रत्ननगरको बकुल्लर चोकमा कृष्णप्रसादको गोली हानी हत्या गरिएको थियो।
मृतकका दाजु नुरप्रसादले दिएको किटानी जाहेरी अनुसार १३ जना प्रतिवादी रहेको यस मुद्दामा हालसम्म ११ जना अदालतमा पेस भएका थिए। तीमध्ये सीता अधिकारी र जानुका पौडेल सादा तारेखमा र अन्य धरौटीमा रिहा भएका थिए। म्याद तामेली भइसक्दा पनि प्रतिवादी रुद्र आचार्य र सुभद्रा अधिकारी भने अदालतमा उपस्थित भएका थिएनन्।
याे पनि पढ्नुहाेस्-
फुजेल प्रकरणका फरार अभियुक्त बाहेक सबैलाई सफाइ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।