काठमाडौं– गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा चितवन जिल्ला अदालतले हाल फरार रहेका रुद्र आचार्य बाहेक अन्य सबै अभियुक्तलाई सफाइ दिएको छ। न्यायाधीश कुलप्रसाद शर्माको इजलासले आचार्यका लागि चाँहि अदालत उपस्थित भएपछि मुद्दा शुरु हुने भन्दै हाल अन्य अभियुक्तलाई प्रकरणबाट उन्मुक्ती दिएको हो।
माओवादी सशस्त्र संघर्षका बेलामा चितवन रत्ननगरमा गोरखाका अधिकारीकाे हत्या माओबादी कार्यकर्ताहरुले गरेका थिए। आइतबार चितवन जिल्ला अदालतले यस्तो फैसला सुनाएको हो।
२०७० चैत ३० गते दर्ता भएको मुद्दामा करीव ५ वर्षपछि फैसला सुनाउँदै जिल्ला अदालतलले सवै प्रतिवादीहरु निर्दाेष रहेको ठहर गरेको हो। २०६१ साल जेठ २४ मा गोरखाका अधिकारीको चितवन रत्ननगरमा रहेका आफ्ना हजुरबुवा र हजुरआमालाई भेट्न आएका बेला हत्या भएको थियो। हत्याको जिम्मा तत्कालीन विद्रोही माओवादीले लिएको थियो। तर कृष्णका दाजु र बाबुले हत्याविरुद्ध चितवन जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। जाहेरी विरुद्ध कुनै कारवाही भएको थिएन।
शुरुमा उक्त मुद्दामा अनुुसन्धान नै भएको थिएन। कृष्णका बाबुआमाले अनशन सुरु गरेपछि २०७० साउनबाट चितवन प्रहरीले अनुसन्धान बढाएको थियो। प्रहरीले अनुसन्धान पुरा गरे पनि मुद्दा चल्ने नचल्ने भन्ने विषयमा विवाद उठेको थियो। कृष्णका बाबु नन्दप्रसाद र आमा गंगामाया अधिकारीले अनशन जारी नै राखेपछि २०७० साल चैत्र ३० मा चितवन जिल्ला अदालतमा १३ जना विरुद्ध मुद्दा दायर भएको थियो।
छोराका हत्यारालाई कारवाही नहुँदासम्म अनशन नतोड्ने अडानमा रहेका मृतक कृष्णका बाबु नन्दप्रसादको अनशनका क्रममा निधन भएको थियो। आमा गंगामायाले भने केही महिना अघि अनशन तोडेकी थिइन्। अनशनका क्रममा निधन भएका कृष्णका नन्दप्रसादको अझै दाहसंस्कार भएको छैन।
अधिकारीको अनसन अन्त्य गराउँदा तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तमाङले पाँच बुँदे सहमति गरेका थिए। उक्त सहमतिअनुसार घटनाको अनुगमन समिति यसअघि नै निर्माण भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।