काठमाडौं– गण्डकी प्रदेश प्रहरी कार्यालय उत्कृष्ट प्रदेश प्रहरी कार्यालय बनेको छ। विगत १ वर्षको अवधिभर गरिएको कामको आधारमा गण्डकी उत्कृष्ट प्रदेश प्रहरी कार्यालय बनेको हो।
प्रहरी दिवसको अवसरमा मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उत्कृष्ट बनेको गण्डकी प्रदेश प्रहरी कार्यालयलाई प्रहरी ब्याटन प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) बुद्धिराज गुरुङलाई प्रहरी ब्याटन प्रदान गरेका थिए।
त्यसैगरी चीनमा सम्पन्न भएको १९औं एसियन गेम्समा उत्कृष्ट प्रदर्शन गरेका नेपाल प्रहरीका खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो।
एसियन गेम्समा कराते खेलमा रजत पदक जित्न सफल नेपाल पुलिस क्लबमा आवद्ध कराते खेलाडी एरिका गुरूङ, कबड्डी खेलमा नेपाललाई कास्य पदक जिताउन सफल नेपाल पुलिस क्लबमा आवद्ध प्रहरी सहायक हवल्दार नितु गुरूङ, प्रहरी सहायक हवल्दार मानमती विष्ट र प्रहरी सहायक हवल्दार अर्पणा चौधरीलाई नगद तथा सम्मानपत्र प्रदान गरिएको थियो।
टि–२० क्रिकेट प्रतियोगितामा मंगोलिया विरूद्धको खेलमा ९ बलमा अर्धशतक पूरा गरी विश्व रेकर्ड कायम गर्न सफल भएका नेपाल प्रहरीका खेलाडी तथा नेपाल प्रहरी क्रिकेट टिमका क्याप्टेन समेत रहेका प्रहरी सहायक हवल्दार दीपेन्द्र सिंह ऐरीलाई नगद तथा सम्मानपत्र प्रदान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।