काठमाडौं– कैलालीको गेटा अस्पतालमा आज (बुधबार) देखि सेवा संचालनमा आउने भएको छ। अस्पतालले मंगलबार पत्रकार सम्मेलन गर्दै बुधबारदेखि विभिन्न ८ वटा सेवा प्रदान गर्ने जनाएको थियो।
अस्पतालले जनरल ओपीडी, हाडजोर्नी तथा नशारोग ओपिडी, स्त्रीरोग सेवा, जनरल सर्जरी ओपीडी, अल्ट्रासाउण्ड सेवा, एक्स-रे सेवा, प्रयोगशाला सेवा र फार्मेसी सेवा उपलब्ध हुने जनाएको छ।
यसैगगरी, अस्पतालले कात्तिक महिनाभित्र एमसीएच क्लिनिक, मंसिरभित्र खोप सेवा विस्तार, पुसभित्र इमरजेन्सी सेवा, चैत्रभित्र शल्यक्रिया सेवा र आगामी वैशाखभित्र आइसीयू र एनआइसीयू सेवा विस्तार गर्ने निर्देशक डा प्रमोद जोशीले जानकारी दिए।
अस्पतालमा निर्देशकसहित चिकित्सक तथा स्वास्थ्यकर्मीगरी २६ जना कर्मचारी हाजिर भइसकेका छन् भने न्यूनतम सेवा सञ्चालनका लागि मेडिकल सामाग्रीहरु आइपुगेका छन्। अस्पतालको सेवा सञ्चालनका लागि राजपत्र अनंकृत सहायकस्तर र श्रेणीविहिन गरी ११० जना र मन्त्रिपरिषद्को निर्णय अनुसार राजपत्राकृंत तथा अधिकृतस्तरका ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भइसकेको छ।
अस्पताल पहिलो चरणमा १०० शय्या क्षमतामा सञ्चालनमा ल्याउन लागिएको हो।
कैलाली जिल्लाको गेटामा मेडिकल कलेज सञ्चालन गर्न मेडिकल कलेज पुर्वाधार निर्माण विकास समितिले अस्पताल भवन, आवासहरु एंव प्रशासनिक भवनहरु निर्माण गरिसकेको छ। अस्पताललाई ३०० शय्या क्षमतामा चलाउन सकिने गरी पूर्वाधारहरु निर्माण भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।