काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बारेमा आफूलाई कुनै प्रतिक्रिया दिन आवश्यक नरहेको बताएका छन्।
सोमबार कान्तिपुर सिनेमाज एपको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकार कहिल्यै पनि स्थायी नहुने बताए।
अहिलेको सरकारले पनि चलचित्र क्षेत्र र सेन्सरका समस्याका बारेमा सुन्नुपर्ने उनको भनाइ थियो। उनले नौरथा लागेको बेला शुभकामना दिनुपर्ने बेला सरकारको बारेमा भनिरहनु आवश्यक नरहेको बताए।
‘सरकार भनेको कुनै पर्मानेन्ट हुँदैन। फेरि मैले सरकारको बारेमा खाली सेन्सरसिपको बारेमा मात्रै भनेको हो, अरु होइन। सरकारको बारेमा मलाई अहिले कमेन्ट गर्नु छैन। फेरि दशैंको आज द्वितीयाको दिन। नौरथा लागेको बेला शुभकामना दिनुपर्ने बेला, किन सरकारको बारेमा भन्नु। भनिरहनुपर्ने आवश्यकता नै छैन’, उनले भने।
अध्यक्ष ओलीले राजनीति गर्नु भनेको धुम्म परेर बस्नु मात्रै नभइ रमाउनु पनि भएको धारणा राखे। जिन्दगीको एउटा मात्रै रङ र आयाम नहुने उनको भनाइ थियो। उनले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य आफूलाई धेरै मन पर्ने कलाकार भएको उल्लेख गरे।
उनले भने, ‘अलिकति उभिने वरिपरी हेर्न समय छैन भने त्यो के जिन्दगी। जिन्दगीका एउटा मात्रै आयाम हुँदैनन्। जिन्दगीको एउटा मात्रै रङ हुँदैनन्, अनेक हुन्छन्। जिन्दगी राजनीति गर्नु भनेको धुम्म परेर बस्नु होइन। रमाउनु पनि हो। मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मलाई औधि मन पर्छ। कलालाई धेरै राम्रोसँग प्रतिनिधित्व गरेका प्रतिविम्वित गरेका कलाकारभित्र मदनकृष्ण र हरिवंश पर्छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।