काठमाडौं– रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख (मेयर) रिनाकुमारी साह पदमुक्त भएकी छन्। नेकपा एमालेले गरेको कारबाहीअनुसार निर्वाचन आयोगले मेयर साह पदमुक्त भएकी सूचना सार्वजनिक गरेको छ।
साह २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट मौलापुरको मेयर निर्वाचित भएकी थिइन्। तत्कालीन अवस्थामा एमालेमा रहेकी उनी पछि दल त्याग गरेर अरु पार्टीमा प्रवेश गरेकी थिइन्।
दल त्याग गरेको भन्दै एमालेले साहलाई कारबाही गर्दै नगर प्रमुखबाट पदमुक्त गर्न निर्वाचन आयोगलाई आग्रह गरेको थियो। निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम साह निर्वाचित भएको पद स्वत: रिक्त भएको जनाएको छ।
साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी हुन्। तत्कालीन नेकपा विभाजन भएपछि साह माओवादी केन्द्रबाट एमालेमा गएका थिए। २०७९ सालको आम निर्वाचनमा एमालेले मधेस प्रदेशमा गरेको टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै एमाले परित्याग गरेका थिए। पति साहसँगै मेयर रिनाकुमारीले पनि एमाले परित्याग गरेकी थिइन्।
![Rina_kumari_Saha_notice1697523980.png](https://nepallive.net/uploads/posts/Rina_kumari_Saha_notice1697523980.png)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।