काठमाडौं– गैरआवासीय नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने क्रम सुरु भएको छ। मंगलबार काठमाडौं एक कार्यक्रमको आयोजना गरी गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान बालुवाटारमा एक समारोहका बीच गैरआवासीय नेपाली संघका पदाधिकारीलाई नागरिकता हस्तान्तरण गरे।
कार्यक्रममा बोल्दै प्रचण्डले निकै ठूलो संघर्ष र मेहेनतपछि गैरआवासीय नेपालीहरूले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने अवस्था बनेको बताए। संविधानमा व्यवस्था भएपश्चात् पनि गैरआवासीय नेपाली नागरिक प्राप्त गर्ने कानुनी व्यवस्था गर्न फेरि अर्को संघर्ष गर्नुरेको प्रधानमन्त्रीको दाबी थियो।
‘निकै ठूलो संघर्ष र मेहेनतपछि हामीले सफलता हासिल गरेका छौँ। पचासौं लाख गैरआवासीय नेपालीहरूले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ, यो निकै ठूलो उपलब्धि हो,’ प्रधानमन्त्री प्रचण्डले भने।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गरेका थिए।
प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीसँग सम्बधित थुप्रै सवालहरूलाई हामीले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरेको दाबी गरे।
संसद्का दुवै सदनबाट पारित नेपाल नागरिकता संशोधन विधेयक राष्ट्रपति रामचन्द्र पौडलले प्रमाणीकरण गरेसँगै एनआरएनहरूका लागि नागरिकता लिने बाटो खुलेको थियो। सरकारले केही अघि यसका लागि आवश्यक नियमावली पनि राजपत्रमा प्रकाशित गरिसकेको छ।
नियमावलीअनुसार जिल्ला प्रशासन कार्यालयहरुले गैरआवासीय नेपाली नागरिकता दिने प्रक्रिया पनि सुरु गरिसकेका छन्।
नियमावलीका अनुसार गैरआवासीय नेपाली (एनआरएन) हरुले गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन विदेशबाटै आवेदन दिन पाउने छन्। संशोधित नियमावलीअनुसार गैर आवासीय नेपालीले विदेशकै राजदूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यस्तो नागरिकता लिन चाहने गैरआवासीय नेपालीले आफू वा आफ्नो बाबु, आमा बाजे वा बज्यैमध्ये १ जनाको नेपाली नागरिकताको आधारमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन सोही नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ।
गैरआवासीय नेपाली नागरिकता लिनका लागि हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि, नेपालको संविधान मान्ने प्रतिबद्धता, विदेशी नागरिकता लिएको प्रमाण आदि कागजात पेस गर्नुपर्नेछ। सार्क राष्ट्रमा बसोबास गर्नेहरूले भने गैरआवासीय नेपाली नागरिकता पाउने छैनन्।
गैरआवासीय नेपालीले नागरिकताका लागि निवेदन दिएपछि नेपाली दूतावास वा महावाणिज्य दूतावासले परराष्ट्र मन्त्रालयमार्फत् १५ दिनभित्र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन पठाउनुपर्नेछ। यसरी निवेदन आएपछि प्रमुख जिल्ला अधिकारीसमक्ष ती गैरआवासीय नेपालीलाई चिन्ने एक नेपाली नागरिकले सनाखत गर्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।