काठमाडौं– नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित रुपमा स्वदेश फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ।
मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकले इजरायलमा रहेका नेपालीहरुलाई सुरक्षित रुपमा स्वदेश फर्काउन सरकारलाई आग्रह गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक रमेश लेखकले नेपाल आउन चाहने नागरिकहरुलाई तत्काल उद्धार गरेर सुरक्षित स्वदेश फिर्ताको लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको बताए।
त्यस्तैगरी युद्धमा परी बेपत्ता भएका नेपाली नागरिकहरुलाई खोजी गरेर उनीहरुको स्थितिलाई सार्वजनिक गर्न पनि आग्रह गरिएको छ। बैठकले इजरायलमा जोखिममा परेका मानिसहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा राख्न, खान, बस्नको उचित व्यवस्था गर्न र हत्या भएका विद्यार्थीहरुको पार्थिव शरीरलाई तत्काल नेपाल ल्याएर परिवारजनलाई बुझाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।