काठमाडौं– प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल आक्रमणमा परी निधन भएका नेपालीहरुको शव यथाशिघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ।
मंगलबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो। सरकारलाई समितिको तर्फबाट निर्देशन दिँदै समिति सभापति राजकिशोर यादवले घाइतेहरुको स्वास्थ्योपचार गर्न, बेपत्ता भएका नेपालीहरुको तत्काल खोजी गर्न र अफ्ठ्यारोमा परेका नेपालीहरुको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिए।
उनले घटनाका पीडित एवं पीडित परिवारलाई राहतको व्यवस्था गर्न, स्वदेश फिर्तीको चाहना भएका नेपालीहरुलाई तत्काल फिर्तीको लागि आवश्यक समन्वय र शिघ्र पहलकदमी लिन पनि सरकारलाई निर्देशन दिए।
समितिले भविष्यमा हुने यस्ताखाले घटनाको पूर्व आकलन गरी विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा नेपालीहरुको विवरण आवधिक गरी पूर्ण अवस्थामा राख्न पनि सरकारलाई निर्देशन दिएको छ।
उनले भने, ‘इजरायलमा भएको अकल्पनीय घटनाबाट निधन भएका नेपालीहरुको शव यथाशिघ्र स्वदेश ल्याउन, घाइतेहरुको स्वास्थ्योपचार गर्न, बेपत्ता भएका नेपालीहरुको तत्काल खोजी गर्न र अफ्ठ्यारोमा परेका नेपालीहरुको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न, पीडित एवं पीडित परिवारलाई राहतको व्यवस्था गर्न, स्वदेश फिर्तीको चाहना भएका नेपालीहरुलाई तत्काल फिर्तीको लागि आवश्यक समन्वय र शिघ्र पहलकदमी लिनलाई यो समितिले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन गर्छ।’
समितिले विदेशस्थित कुटनीतिक नियोगहरुलाई स्रोत, साधनसहित सक्षम बनाउनसमेत परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।