काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले संघीयताले गरेर नखाएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै केसीले मुख्यमन्त्रीहरूलाई काठमाडौंमा बनाइएको भवनको आलोचना गरे।
‘मुख्यमन्त्रीहरूलाई काठमाडौंको भैंसेपाटीमा दरबार बनाउने हो? उहाँहरू प्रदेशबाट आएर यहाँ बास बस्ने? कठैबरा! यही हो, अब चल्छ संघीयता? तपाईंहरूले धान्न सक्नुहुन्छ?’, उनले भने।
केसीले सदनमा आफूले संघीयता बलियो बनाउनुपर्छ भन्ने आवाज सुनिरहेको भन्दै कोशी प्रदेशको समयमै न्वारन हुन नसकेको सन्दर्भ जोड्दै संघीयता चल्न नसक्ने बताए। ‘न्वारनमा बाहुनहरूले नाम किटानी गरिसकेपछि त्यो नाम भएन भनेर फेरि त्यहाँ उत्पात मचिन्छ’, उनले भने, ‘कतिपटक त्यहाँ सरकार बने, कति भत्किरहेछन्। यो जात्रा सुन्न र देख्न नेपाली जनताले परेको छ। तैपनि संघीयताको मुरली माननीयज्यूहरूले बजाइरहनुभएको छ।’
केसीले लाज नमानीकन प्रजातान्त्रिक विकेन्द्रीकरण गर्न सुझाव दिए। ‘नगरपालिका र गाउँपालिकालाई अधिकार दिऔं। नेपाल एकात्मक प्रणालीको विकल्पमा संघात्मक प्रणाली हुँदै होइन। नेपाली जनताले महसुस गरिसके। यहाँ हामीले जति घोक्रो फुलाए पनि नेपाली जनतालाई यो मान्य छैन भनेर देखाइसक्यौं नि हामीले। कोशीमै देखाइरहेका छौं। अब फेरि चारपाँच दिनपछि अर्को मुख्यमन्त्री हुनका लागि धमधास छ। यस्तो देख्दादेख्दै किन लाज पचाइरहेका छौं। हामीले किन जबर्जस्ती गराइरहेका छौं।’
यो पनि पढ्नुहोस्
‘प्रदेश निवास’ : संघीयतालाई गिज्याउने दृश्य!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।