काठमाडौं– फुटबल वर्ल्ड कप-२०२६ क्वालिफायर्स एसिया जोन राउण्ड-१ अन्तर्गत नेपाल र लाओसबीचको खेल असोज २५ गते दशरथ रङ्गशालामा हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो।
फिफा वरियतामा लाओस १८६औँ र नेपाल १७५औँ स्थानमा छन्। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले हाल २५ सदस्यीय नेपाली टोलीलाई बन्द प्रशिक्षणमा राखेका छन्।
छनोट खेलका लागि एन्फाले सम्पूर्ण तयारी गरिसकेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए। खेलको ‘कमर्सियल मिडिया राइट’ सिङ्गापुरस्थित स्पोर्टस फाइभलाई प्रदान गरिएको छ।
खेलका लागि टिकटदर साधारण पाराफिटतर्फ ३०० रुपैयाँ र भीआईपी पाराफिटतर्फ ५०० रुपैयाँ कायम गरिएको छ। खेलको टिकट एन्फा आफैँले बिक्री गर्ने छ। सो प्रतियोगिताका लागि ७३ लाख ६८ हजार ४०० रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।