काठमाडौं- सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकालको कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।
बाँकेका चेतन मानन्धरकी पत्नी भारती मानन्धरले दायर गरेको रिटमा बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले सात दिनभित्र लिखित जवाफ पेस गर्न भनेको छ।
यस्तै सर्वोच्चले अर्को सुनुवाइको पेसी असोज २५ गतेलाई तोक्न पनि आदेश गरेको छ।
आदेशमा रिगललाई आफैँ वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत् र अन्य प्रत्यर्थीहरुको हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४६ (१) असोज २४ गते साँझ ५ बजेभित्र जवाफ पेस गर्न भनिएको छ।
यो पनि पढ्नुहोस्
‘प्रधानन्यायाधीश’ कै फैसला दाहिना बनेपछि यसरी छुटेका थिए रिगल
यसैगरी सर्वोच्चले रिट निवेदनको टुङ्गो नलागेसम्म निवेदक र निवेदकको परिवारका सदस्यलाई यथोचित सुरक्षा प्रदान गर्न पनि गृह मन्त्रालयलाई आदेश दिएको छ।
तरुण दलमा आबद्ध गुण्डा नाइके ‘रिगल’ संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि असोज ३ गते कैद मिनाहा हुँदै जेलमुक्त भएका थिए।
रिगलसहितको समूहले २०७२ असार २८ गते नेपालगन्जको सुर्खेत रोडस्थित धम्बोझी चोकनजिक नेपालगन्ज–८ का २९ वर्षीय चेतन मानन्धरको खुँडा प्रहार गरी हत्या गरेका थिए। मानन्धर हत्याको एक महिनापछि २०७२ भदौ ७ गते रिगलले अदालतमा आत्मसमर्पण गरेका थिए। त्यतिबेला उनी नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको बाँके क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति समेत थिए।
चेतन हत्यामा संलग्न १३ अभियुक्तमध्ये रिगलसहित प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री, विशाल भनिने छविलाल बस्नेत र नवराज खत्री भनिने मोहनलाल खड्कालाई २०७५ वैशाखमा जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। बाँकी ९ जनालाई भने ३ वर्षदेखि १० वर्षसम्मको कैद सजाय सुनाइएको थियो।
सर्वश्वसहित जन्मकैदको फैसलाअनुसार रिगल २० वर्ष सजाय बस्नुपर्ने थियो। तर ५० प्रतिशत पनि कैद भुक्तान नगरी उनले आममाफी पाएका थिए।
सरकारको उक्त निर्णयविरुद्ध गत आइतबार हत्या भएका चेतनकी पत्नी भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।