काठमाडौं– संघीय संसद्को तल्लो सदन (प्रतिनिधि सभा)को बैठक आज (बिहीबार) बस्दै छ। बिहीबार दिनको १ बजे बस्ने बैठकका सम्भावित ३ वटा कार्यसूची रहेका छन्।
बैठकको सुरुपमा सभामुख देवराज घिमिरेले ‘विद्युत् विधेयक २०८०’लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नेछन्। उक्त सूचनामाथि निर्णय भएपछि उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत् विधेयक २०८०’ लाई सभामा पेस गर्नेछन्।
बिहीबारको बैठकमा एउटा शोक प्रस्ताव पारित गर्ने समेत कार्यसूची छ। गणतन्त्रवादी नेता तथा पूर्व सांसद खेमराज भट्ट मायालुको निधनमा सभामुख घिमिरेले बिहीबारको बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।
पूर्वसांसद भट्टको ७६ वर्षको उमेरमा असोज ४ गते राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। भट्ट २०५६ सालमा बर्दिया क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।