चैनपुर– मंगलबार दिउँसोको भूकम्पबाट बझाङमा १ जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक (इन्सपेक्टर) दिपेश चौधरीका अनुसार मंगलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो। प्रहरी टोली घटनास्थलमा गएको छ।
बझाङमा भूकम्पबाट १६ जना घाइते भएका विवरण प्राप्त भएको थियो। जसमध्ये ११ जनालाई अस्पताल भर्ना गरेर उपचार थालिएको थियो। २ जना उपचारपछि घर फर्किएका छन्। ९ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार भूकम्पबाट बझाङमा १३५ संरचनामा क्षति पुगेको छ। प्रहरी निरीक्षक चौधरीका अनुसार थलारामा ६० घरमा क्षति पुगेको छ। केदारस्यूँमा १, वित्थडचिरमा २ तथा बुङ्गल नगरपालिकामा ४ घर पूर्णरूपमा क्षति भएका छन्। जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।