काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रमा देखिएका समस्या र चुनौती सरकारको टालटुले जवाफले सुधार नहुने बताएका छन्। मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।
उनले मुलुकको आर्थिक अवस्था चानचुने अवस्थामा नभएको भन्दै सरकारले टालटुले जवाफले अर्थतन्त्र समालिन नसक्ने बताए। अर्थतन्त्रको समग्र शल्यक्रिया गर्नसक्ने गरी उचित उपचारको प्रबन्ध सरकारले गर्न सक्नुपर्ने उनको भनाइ थियो।
मुलुकको अर्थतन्त्रका विषयमा छलफल गर्ने बोलाउँदा अर्थमन्त्री आउनुपर्ने पनि उनले बताए। उनले मुलुकको अर्थतन्त्र र समितिमा अर्थ मन्त्रालयले प्रस्तुत गरेको आर्थिक अवस्था मेला नखाएको बताए। देशको अर्थतन्त्र मन्दीको अवस्थामा आए पनि अर्थ मन्त्रालयले मन्दीको अवस्थालाई स्वीकार गर्न नसकेको उनले उल्लेख गरे।
उनले अर्थतन्त्र मन्दीमा गएको स्वीकार गर्न नसक्ने मन्त्रालयले अर्थतन्त्रका समस्या समाधान नगर्न सक्ने बताए। अर्थतन्त्र मन्दीमा गएको विषयमा सरकारले मौनता साँधेको आरोप उनको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।