काठमाडौं– बचतकर्ताको साढे २ करोड रुपैयाँभन्दा बढी ठगेर चाबहिलस्थित हाम्रो भविष्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित ८ जना फरार भएका छन्। आकर्षक ब्याज दिने भन्दै बचतकर्तालाई रकम जम्मा गर्न लगाएर बचतकर्ताको साढे २ करोड बढी रकम लिएर अध्यक्षसहित ८ जना फरार भएका प्रहरीले जनाएको छ।
यो ठगी प्रकरणमा उक्त सहकारीका उपाध्यक्ष कृष्णबहादुर कार्की भने पक्राउ परेका छन्। पक्राउ परेका कार्की र फरार ८ जना गरी ९ जनालाई प्रतिवादी बनाउँदै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा फाइल बुझाएको थियो। सरकारी वकिल कार्यालयमा पुगेको उक्त अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला अदालतमा ९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको छ।
पक्राउ परेका कार्कीसहित उक्त सहकारीका अध्यक्ष उत्तरकुमार तामाङ, सहकारीका कर्मचारी सूर्यबहादुर तामाङ, कोषाध्यक्ष शिव शंकर खत्री, सदस्य विमला तामाङ, सदस्य रामेश्वरी वनमाला, सहकारीको लेखा समिति संयोजक निर्मला खड्का, लेखा समिति सदस्य रिता वनमाला र लेखा समिति सदस्य नमराज दंगाललाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ।
प्रहरीको अनुसन्धानअनुसार उनीहरुले ५१ जना बचतकर्ताको २ करोड ५७ लाख ८९ हजार ४५६ रुपैयाँ ठगी गरेको देखिएको छ। उक्त रकम बराबरको बिगो कायम गर्दै सोहीअनुसार जरिवाना र कैद सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता गरिएको हो। उनीहरुविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा १ अन्तर्गतको कसुरमा सोही दफाको उपदफा २ बमोजिमको सजाय माग दाबी गरिएको छ।
त्यसैगरी अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम कसुरदारबाट पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन समेत मागदाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।