प्रतिकात्मक तस्बिर म्याग्दी– देशभर विभिन्न ठाउँमा बचतकर्ताको निक्षेप रकम ठगी गरेको पाइएको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले म्याग्दीका करिब ३०० सेयर सदस्यले बचत गरेको ४ करोड ६१ लाख रकम फिर्ता नगरेको पाइएको छ।
ती सेयर सदस्यले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आफूहरुले बचत गरेको रकम सहकारीले हिनामिना गरी ठगी गरेको भन्दै उजुरी दिएका छन्। बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सो सहकारी ७ महिनादेखि बन्द छ। सहकारी ऐनसम्बन्धी कसुरमा पीडितहरूबाट उजुरी सङ्कलन गरेर अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत् शिवशिखर सहकारीविरुद्ध जिल्ला अदालत म्याग्दीमा मुद्दा दर्ता भइसकेको प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन कुँवरले बताए।
‘सहकारी विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको परिपत्रका साथै बेनीका केही बचतकर्ताको उजुरीका आधारमा २०८० असार १७ गतेदेखि अनुसन्धान थालिएको थियो,’ डीएसपी केसीले भने, ‘मुद्दा दर्ता भएको ९० दिनभित्र अनुसन्धानको सबै प्रक्रिया पूरा गरेर सरकारी वकिलमार्फत जिल्ला अदालत म्याग्दीमा मुद्दा अघि बढेको छ।’
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर सहकारीले बेनीका बचतकर्ताले बचत गरेको साँवा र ब्याज फिर्ता गरेको छैन। सहकारीले २०७९ बैशाखमा बेनीमा सदस्य सेवा केन्द्र विस्तार गरेको थियो।
सुरुआतमा बचतकर्तालाई आकर्षक ब्याजदरको लोभमा करोडौँ बचत सङ्कलन गरेको सहकारीले ६ महिनाअघि आर्थिक सङ्कटमा रहेको सूचना प्रकाशित गरेर कारोबार बन्द गरेको थियो। बेनीको न्यूरोडमा करिब ६ करोडमा ७ आना क्षेत्रफलमा रहेको जग्गा र घर खरिद गरेर सहकारीले शाखा सञ्चालन गर्दै आएको थियो।
सो सहकारीको बेनी शाखामा १ हजार ४८४ जनाको ६ करोड १० लाख बचत रहेकामा २८२ जनाले मात्र उजुरी गरेका हुन्। निक्षेप फिर्ता नगरेको जनाउँदै बेनी नगरपालिकाको न्यायिक समितिमा समेत सहकारी संस्थाविरुद्ध उजुरी पर्ने क्रम बढेको छ। –राससको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।