काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। हाल नेपाल टेलिकमको जिम्मेवारीमा रहेका उनले ६ वर्षअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यकारी निर्देशक पदमा गरेको कामका कारण भ्रष्टाचार मुद्दा दायर भएको हो।
‘नेशनल पेमेन्ट गेटवे’ प्रकरणमा राज्यलाई नोक्सान पुर्याउने गरी काम गरेको भन्दै अख्तियारले उनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसमेतको मिलेमतो र योजनामा ६ वर्षअघि खरिद गरिएको नेशनल पेमेन्ट गेटवे माथिल्लो निकायलाई जानकारी नदिई रू २५ करोडमा खरिद गर्ने कोशिस भएको र त्यसमा २३ करोड २७ लाख भ्रष्टाचार भएको अभियोगपत्रमा दाबी गरिएको छ।
अख्तियारले उनलाई सोही बराबरको बिगो, जरिवाना र कैद सजाय गर्न माग गरेको छ। उक्त कार्य हालसम्म प्रयोगमा आउन नसकेको, आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी स्वीकृत गराएर २५ करोड रुपैयाँमा खरिद गरी सरकारको सम्पत्ति गैरकानुनी तवरले हानी नोक्सानी पुर्याएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल हाल नेपाल टेलिकमका प्रबन्ध निर्देशक छन् । उनी भ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बित हुनेछन्। उनीहरूसंग भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ विगो दावी गरिएको छ।
त्यस्तै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) देहाय (झ) बमोजिम कैद सजाय र सोही दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना हुनुपर्ने दाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।