काठमाडौं– नेपाल सरकारका बहालवाला सचिव र राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का तत्कालीन अध्यक्ष सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार शर्मासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
९ जनाविरुद्ध २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
६ वर्ष अगाडि नेसनल पेमेन्ट गेटवे खरिद गरेर भ्रष्टाचार गरिएको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर भएको हो। कमिसनको चक्करमा किनिएको उक्त गेटवे अहिलेसम्म प्रयोगमा आउन सकेको छैन।
शर्मासँगै तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, नेपाल टेलिमकका प्रबन्ध निर्देशक सुनिल पौडेल, एनआईटीसीका तत्कालीन निर्देशक तथा हालका उपनिर्देशक सफल श्रेष्ठ, अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख तथा हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु कुमार मरासिनी, एआईटीसीका सहायक निर्देशक रमेश पोखरेल तथा एनआईटीसीका तत्कालीन लेखा अधिकृत नीमबहादुर वली, एनआईटीसीका कम्युटर इन्जिनियर रामशरण गायक विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।
आवश्यक पूर्वाधार नै तयारी नगरी अस्वभाविक लागतमा उक्त गेटवे खरिद खरिएको अख्तियारको दावी छ। प्रतिवादी बनाइएका ९ जनाको योजनामा मरासिनीले नीति तथा कार्यक्रममा समावेश नै नभएको पेमेन्ट गेटवे खरिद शीर्षकमा एलएमबिआईएस बजेट प्रविष्टका नियमित चरणहरुमा पर्ने कुनै पनि कार्य नगरी तथा आवश्यक कागजात समेत तयारी नगरी खरिद गरिएको अख्तियारले जनाएको छ।
उनीहरुले माथिल्लो निकाय तथा अधिकारीहरुलाई समेत जानकारी नै नदिइ २५ करोड बजेट सिलिङभन्दा बाहिर गइ विनियोजन गरी खरिद गरिएको उल्लेख गरिएको छ।
नोट: यसअघि भुलबस ९ जना हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।