फाइल तस्बिर
एजेन्सी– दक्षिण–पश्चिम स्पेनको एक रात्रि क्लबमा आइतबार बिहान आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
मर्सिया शहरको बाहिरी भागमा रहेको टेट्रे नाइट क्लबमा आगलागी भएको हो। स्वास्थ्य सावधानी तथा आपतकालीन सेवा संयोजन केन्द्रले १३ जनाको मृत्यु भएको पुष्टि गरेको छ।
घाइतेमध्ये २२ र २५ वर्षका दुई महिला र ४१ र ४५ वर्षका दुई पुरुषको आगलागीमा धुवाँबाट भएको असर कम गर्न उपचार भइरहेको छ।
स्थानीय समयअनुसार बिहान ६:०० बजे नाइट क्लबको पहिलो तल्लामा आगलागी सुरु भएको र छतको केही भाग जलेर नष्ट भएको मर्सियाका मेयर जोसे बालेस्टाले बताएका छन्। ‘आगलागीबाट हामीले ठूलो मानवीय क्षति व्यहोरेका छौं,’ बालेस्टाले भने।
उनले भने, ‘राष्ट्रिय सभा केन्द्रले मृतकहरूको सम्झनास्वरूप तीन दिनको शोकको घोषणा गरेको छ र पीडितका परिवारका सदस्यहरूले स्थानीय खेलकुद हलमा स्थापित परामर्श र मनोवैज्ञानिक केन्द्रमा सहयोग प्राप्त गर्न सक्नेछन्।’
स्थानीय अधिकारीका अनुसार ४० जना अग्निनियन्त्रकले घटनास्थलमा काम गरिरहेका छन् र भत्किएको छानामुनि अझै धेरै पीडित हुन सक्ने अनुमान गरिएको छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।