काठमाडौं– क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतसँग घनिष्ठ सम्बन्ध बनाउनका लागि आफू गम्भीर रहेको बताएका छन्। क्यानडा र भारतको राजनीतिक सम्बन्ध सबैभन्दा तनावपूर्ण अवस्थामा रहेको बेला क्यानाडाली प्रधानमन्त्रीको यस्तो बयान आएको हो।
भारतसँग ‘गम्भीर र रचनात्मक’ रुपमा जोडिनु क्यानडाका लागि धेरै महत्त्वपूर्ण रहेको प्रधानमन्त्री ट्रुडोको भनाइ छ। क्यानडाको अखवार ‘नेशनल पोस्ट’सँग कुराकानी गर्दै ट्रुडोले भने, ‘भारत एक बढ्दो आर्थिक शक्ति र महत्त्वपूर्ण भू-राजनीतिक प्लेयर हो। र जस्तो कि हामीले पछिल्लो वर्षको हाम्रो इन्डो–प्यासिफिक रणनीतिमा भनेका थियौँ हामी भारतसँग घनिष्ठ सम्बन्ध बनाउनका लागि धेरै गम्भीर छौँ।’
प्रधानमन्त्री ट्रुडोले नै दिएको एउटा बयानका कारण पछिल्लो समय भारत र क्यानडाको राजनीतिक सम्बन्ध सबैभन्दा तनावपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। १९ सेप्टेम्बरमा संसद्लाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ट्रुडोले सिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारका एजेन्ट संलग्न रहेको बताएका थिए।
शिख नेता हरदीप सिंह निज्जरको गत जुन महिनाको १८ तारिखमा क्यानडाको ब्रिटिस कोलम्बियाको सरेस्थित गुरुद्वारा अगाडि गोली हानी हत्या भएको थियो। उनको हत्यामा भारत सरकारका जासुसहरुको संलग्नता रहेको भन्ने क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोको बयानले २ देशबीचको तनावपूर्ण सम्बन्ध झनै बिग्रिँदै गएको थियो।
निज्जरको हत्या प्रकरणले बढ्दो तनावका बीच दुई देश एक–अर्का देशका कूटनीतिज्ञलाई आ–आफ्नो देशबाट निकाला गर्ने तहसम्म पुगेका थिए।
भारतले भने ट्रुडोको उक्त अभिव्यक्तिको कडा शब्दमा आलोचना गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।