काठमाडौं– बैंकहरुले अटोको महाकुम्भ मेला ‘नाडा अटो शो’ लाई लक्षित गर्दै गाडी कर्जाको ब्याजदर घटाएका छन्।
बैंकहरुले गाडी कर्जाको ब्याजदर ९ प्रतिशतमा झारेका छन्। कर्जा अवधि ५ वर्षबाट वृद्धि गरी १० वर्ष बनाएका छन्। धेरै बैंकहरुले १० प्रतिशतभन्दा कम ब्याजदरमा अटो लोन प्रवाह गर्ने तयारी गरिरहेको एक बैंकरले बताए। उनले भने,‘अटो शोलाई लक्षित गरेर अटो लोनको ब्याजदर घटाउन कही बैंकबीच सल्लाह भएको छ। उनले असोज मसान्तसम्ममा धेरै बैंकहरुको बेस रेट १० प्रतिशतभन्दा कम हुने बताए।
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बैंकहरुको ‘बेस रेट’ घटेसँगै कर्जाको ब्याजदर घटेको बताए। भने, ‘चालु आर्थिक वर्षको डेढ महिनाको अवधिमा बैंकहरुको बेस रेट घटेकाले बैंकहरुले ब्याजदर घटाएका हुन्। अटो शोलाई फोकस गरेको होइन।’
अटो शो नजिकिएसँगै एभरेस्ट बैंकले ९.९९ प्रतिशतमा गाडी कर्जा प्रवाह गर्ने योजना अगाडि सारेको छ। यसअघि मेगा बैंक नेपालले डाट्सन र निशान कम्पनीका गाडीका लागि १० वर्षे अटो लोन प्रदान गर्ने घोषणा गरेको छ। बैंकले यी गाडीका आधिकारिक बिक्रेता पायोनियर मोटर्ससँग सम्झौता गरिसकेको छ।
अघिल्लो वर्षको अटो शोमा लगानी योग्य पुँजी (तरलता) को अभाव देखाउँदै बैंकहरुले कर्जा लगानी कम गरेपछि र कर्जाको ब्याजदर उच्च बन्दा अटो मेला प्रभावित बनेको थियो। तरलता अभाव देखाउँदै तीन महिनाअघिसम्म सवारी कर्जाको ब्याजदर १४ प्रतिशतभन्दा माथि पुगेको थियो।
राष्ट्र बैंकको पछिल्लो नीति अनुसार ३५ प्रतिशत डाउन पेमेन्ट अनिवार्य रुपमा जम्मा गर्ने मानिसले मात्रै अटो लोन पाउन सक्छन्। त्यसैले कुनै पनि गाडी खरिद गर्ने मानिसले खरिद मूल्यको ३५ प्रतिशत पहिले कम्पनीमा जम्मा गर्नुपर्छ। राष्ट्र बैंकको यो नीति आएसँगै बैंकहरुले सवारी कर्जा अवधि ५ वर्षबाट बढार १० वर्ष बनाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।