काठमाडौं– साफ यू–१९ च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले माल्दिभ्सविरुद्ध ४–१ गोलको जित निकालेको छ।
पहिलो हाफको समाप्तिमा नेपाल २–० ले अग्रता लिएको थियो। तर दोस्रो हाफको सुरुवातीमा माल्दिभ्सले पनि एक गोल फर्काएको थियो।
सेमिफाइनमा पुग्न जित्नै पर्ने निर्णायक खेलमा नेपालले राम्रो सुरुवात गरेको थियो। उक्त लयका साथ नेपालले माल्दिभ्समाथि ४–१ गोलको जित निकालेको हो।
दोस्रो हाफमा ५८ औं मिनेटमा लायन रसिदले गोल गर्दै माल्दिभ्सलाई खेलमा फर्काउने कोशिश गरेका थिए। तर खेल सकिन दुई मिनेट बाँकी छदाँ निराजन धामीले गोल गर्दै नेपाललाई जितको नजिक पुर्याएका थिए।
दोस्रो हाफको इन्जुरी समयमा निराजन धामीले ब्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए। पहिलो खेलमा पाकिस्तानसँग पराजित बनेको नेपाललाई सेमिफाइनलमा स्थान बनाउन माल्दिभ्सलाई हराउनै पर्ने दबाब थियो। बराबरीको नतिजाले मात्र माल्दिभ्स अन्तिम चारमा पुग्न सक्थ्यो।
तर नेपालले आफु अनुकुलको जित सहित समूह उपविजेताको रुपमा अन्तिम चारमा स्थान पक्का गरेको छ। माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएको छ।
नेपालले फाइनलमा प्रवेशका लागि अब भारत वा भुटानसँग खेल्नेछ। समूह बीको विजेता टुङ्गो लगाउन सोमबार साँझनै भारत र भुटानबीच प्रतिस्पर्धा हुदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।