काठमाडौं– रियल मड्रिडको अपराजित यात्रामा पूर्णविराम लागेको छ। ला–लिगाअन्तर्गत आइतबार राति भएको मड्रिड डर्बी (रियल मड्रिड र एथ्लेटिको मड्रिड)मा एथ्लेटिको मड्रिडले रियललाई ३–१ गोलले हरायो।
खेलको चौथो मिनेटमै डायस लिनोको पासमा अल्भारो मोराटाले हेडमार्फत गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाए। १८औं मिनेटमा सउलको पासमा एन्टोनी ग्रिजम्यानले गोल गरेपछि एथ्लेटिकोले अग्रता दोब्बर बनायो।
३५ औं मिनेटमा टोनी क्रुसले गोल गरेपछि खेल २–१ को स्थितिमा आएको थियो। दोस्रो हाफको ४६औं मिनेटमा पुनः सउलको पासमा मोरोटाले गोल गर्दै खेल ३–१ को स्थितिमा ल्याए। बाँकी समय दुबैतर्फबाट गोल नभएपछि एथ्लेटिकोले ३–१ को जित निकाल्यो।
लगातार ५ खेलसम्म अपराजित गरहेको रियल मड्रिडको यात्रालाई एथ्लेटिकोले पूर्णविराम लगाइदियो। ६ खेलबाट रियल १५ अंकसहित तेस्रो स्थानमा छ। १६ अंकसहित बार्सिलोना पहिलो स्थानमा छ। एथ्लेटिको मड्रिड भने १० अंकसहित पाँचौं स्थानमा छ।
आइतबार राति नै भएका ला–लिगामा अन्य खेलहरुमा रियल सोसिडाडले गेटाफेलाई ४–३ गोल अन्तरले हरायो। रायो भाल्कानो र भिल्लारियलले भने १–१ को बराबरी खेल्दै अंक बाँडे।
लास पाल्मसले ग्रानाडालाई १–० ले हरायो भने रियल बेटिस र काडिजले १–१ को बराबरी खेले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।