काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा आफूहरूको पनि असहमति भएको बताएका छन्। तर विद्यालय बन्द गरेर पठनपाठनमा अवरोध नपुर्याउन अनुरोध गर्दै उनले अवरोध भएमा कारबाही गर्ने चेतावनी दिएका छन्।
महानगरले विद्यालय बन्द गरेर आन्दोलन गर्ने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएपछि सामाजिक सञ्जालमा पक्ष-विपक्षमा मत विभाजन भइरहेको छ। केही महानगरको पक्षमा उभिएका छन् भने केहीले महानगरको उक्त कदम बेठीक भएको तर्क गरिरहेका छन्।
यसैबीच बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा मेयर शाहले संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप भएको बताए।
‘शिक्षा विधेयकमा हाम्रो पनि असहमति छ। लगभग २ लाख ५० हजार हजार विद्यार्थी तथा १०००० भन्दा धेरै शिक्षक हाम्रो मातहतमा छन्। आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ। किनकि काठमाडौंको शिक्षाको नीति र जुम्ल को नीति र आवश्यकता फरक हुन्/छ्न्,’ उनले भनेका छन्, ‘संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो। संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन।’
उनले अगाडि भनेका छन्, ‘स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे सम्मानित अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउन चाहन्छौँ, तर यति भन्दै गर्दा शिक्षकले स्कुल बन्द गरेर पठनपाठन मा अवरोध नपुर्याउनुहोला।’
उनले पठनपाठनमा अवरोध पुर्याए कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।