काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने बताए। संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन्।
उनले भने, ‘कतै हाम्रा कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम त भइरहेको छैन? मलाई लाग्छ यसो हुनुमा निश्चय नै अनेक कारण छन्। तर हाम्रा कमजोरी पनि त्यसका कारण हुन्। अतः त्यसलाई हाम्रो राजनीतिक निष्ठाले जित्नु पर्छ र लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक छ।’
राष्ट्रपति पौडेलले गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तनमात्र नभइ जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार रहेको बताए। उनले भने, ‘यो त संस्कार, संस्कृति, आनीबानी र व्यवहारमात्रै होइन आचरणमा परिवर्तन पनि हो।’
उनले अघि भने, ‘राजनीतिक रुपमा जनताको सर्वोत्तम उपलब्धि ‘‘गणतन्त्र’’ हामीले प्राप्त गरेका छौ, तर गणतन्त्रको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै छ जस्तो मलाई लाग्छ। गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तनमात्र होइन, यो त जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो, यो त संस्कार, संस्कृति, आनीबानी र व्यवहारमात्रै होइन आचरणमा परिवर्तन पनि हो भनेर हामीले बुझ्न बाँकी छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।