काठमाडौं- भारतले क्यानडामा रहेका आफ्ना विद्यार्थीहरूका लागि ‘ट्राभल एडभाइजरी’ जारी गरेको छ। भारतको विदेश मन्त्रालयले बुधबार एक ‘ट्राभल एडभाइजरी’ जारी गर्दै आफ्ना नागरिकलाई सावधानीका लागि आग्रह गरेको हो। त्यस्तै क्यानडा जान चाहनेहरूका लागि पनि ‘अत्यन्त सावधानी अपनाउन’ आग्रह गरिएको छ।
यसअघि क्यानडाले मंगलबार आफ्ना नागरिकलाई भारत भ्रमणबारे ‘ट्राभल एडभाइजरी’ जारी गरेको थियो। क्यानडामा बढ्दो भारत विरोधी गतिविधि र घृणा अपराधलाई ध्यानमा राख्दै त्यहाँ रहेका भारतीय नागरिकहरू र यात्रा गर्ने विचार गर्नेहरूलाई अत्यन्त सावधानी अपनाउन अनुरोध गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
शिख नेता हरदीप सिंह निज्जरको गत जुन महिनाको १८ तारिखमा क्यानडाको ब्रिटिस कोलम्बियाको सरेस्थित गुरुद्वारा अगाडि गोली हानी हत्या भएको थियो। उनको हत्यामा भारत सरकारका जासुसहरुको संलग्नता रहेको भन्ने क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोको बयानले २ देशबीचको तनावपूर्ण सम्बन्ध झनै बिग्रिने देखिएको छ।
उक्त हत्या भारतीय पक्षले गरेको भन्दै क्यानडाको संसद्मै कुरा उठेको थियो। क्यानडाले आफ्नो देशको नागरिकको हत्या गर्ने कुरा स्वीकार नहुने भन्दै त्यस्तो कार्य सार्वभौमसत्ताको उल्लंघन भएको दाबी गरेको थियो। लगत्तै क्यानडाको तल्लो सदन सदन हाउस अफ कमन्समा एक बयान दिँदै प्रधानमन्त्री ट्रुडोले निज्जरको हत्यामा भारतीय सरकारका जासुसहरू संलग्न रहेको विषयमा छानबिन भइरहेको बताएका थिए। उक्त विवादले दुई देशबीचको सम्बन्ध बिग्रिएको छ।
दुवै देशले दूतावासमा कार्यरत रहेका व्यक्तिहरूले देश निकाल्नेसम्मका कार्य गरेका छन्। हालैका धम्कीहरूले विशेष गरी भारतीय कूटनीतिज्ञहरू र भारत विरोधी एजेन्डाको विरोध गर्ने भारतीय समुदायका वर्गहरूलाई लक्षित गरेको ट्राभल एडभाइजरीमा उल्लेख छ। भारतीय नागरिकहरूलाई क्यानडामा यस्ता घटनाहरू देखिएका क्षेत्रहरू र सम्भावित स्थानहरूमा यात्रा नगर्न भनिएको छ।
क्यानडामा रहेको भारतीय वाणिज्य दूतावासले त्यहाँ रहेका भारतीय समुदायको सुरक्षा सुनिश्चित गर्ने पनि जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।