काठमाडौं- कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानको कार्यान्वयनलाई गति दिँदै राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गरी देश र जनताको आकांक्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर प्रयासरत रहेको बताएका छन्।
संविधान दिवस, २०८० का अवसरमा बुधबार मुल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले संविधानप्रति सबैको सच्चा सम्मान र समर्पणले नै देशलाई समृद्ध लोकतन्त्रको नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। उनले संविधानका आधारस्तम्भहरू क्रमशः सबल बन्दै गएसँगै देशमा राजनीतिक स्थायित्व कायम भएकाले अबको कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय भएको स्पष्ट पारे।
‘भौतिक पूर्वाधारका साथै आर्थिक र सामाजिक पूर्वाधार निर्माणमा जोड दिँदै नेपाली जनताको विकासप्रतिको अभिलाशालाई यथाशीघ्र साकार तुल्याउन अब हामी सबै थप समर्पणभावका साथ जुट्नुपरेको छ,’ कार्यवाहक प्रधानमन्त्री खड्काले भने, ‘संविधानको कार्यान्वयनबाट सुन्दर र समृद्ध राष्ट्र निर्माण गर्दै जनतालाई गरिबी, अशिक्षा तथा पछौटेपनबाट मुक्ति दिलाई समतामुलक समाजको सिर्जना गर्नु हाम्रो साझा दायित्व हो।’
कार्यवाहक प्रधानमन्त्री खड्काले सरकारले स्वास्थ्य पूर्वाधार एवं सेवाहरूको विस्तार र सृदृढीकरण गरी महामारी नियन्त्रण तथा विपद् व्यवस्थापन एवं न्यूनीकरण गर्न सक्दो प्रयास गरेको र डेङ्गु रोग फैलन नदिन तथा यसबाट हुन सक्ने सम्भावित क्षति न्यून गर्न आवश्यक तयारी गरिरहेको बताए। बाढी, पहिरोजस्ता विपद्का कारण भएको धनजनको क्षतिमा तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि प्रदेश र स्थानीय तहसमेतको समन्वयमा काम गरिएको उनले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।