एजेन्सी- युरोपेली संघ (ईयू) को कार्यकारी निकायले युक्रेनबाट आएका शरणार्थीको युरोपेली संघमा रहन पाउने अधिकार सन् २०२५ को मार्चसम्म लम्ब्याउने प्रस्ताव गरेको छ।
सन् २०२२ को फेब्रुअरीमा रुस-युक्रेन युद्ध सुरू भएको केही दिनपछि युरोपेली संघले आफ्नो अस्थायी सुरक्षा निर्देशन जारी गरेको थियो। ईयूले सन् २०२४ सम्म युद्ध अन्त्य हुने प्रारम्भिक अनुमान गरेको थियो। तर करिब १९ महिनायता चलिरहेको रुस-युक्रेन युद्ध रोकिने संकेत देखिएको छैन। युद्ध रोकिने संकेत नदेखिएपछि ईयूले उक्त प्रस्ताव गरेको हो।
युरोपेली आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको ४० लाखभन्दा बढी व्यक्तिलाई सुरक्षा प्रदान गर्ने निश्चितता र समर्थन प्रदान गर्न शरण दिने बताइएको छ।
आयोगले शरणार्थीहरूको सुरक्षित र दिगो फिर्तीका लागि अझै अनुकूल नभएको वर्तमान, अस्थिर परिस्थितिको आवश्यक र उपयुक्त प्रतिक्रियाको रूपमा यसलाई लम्ब्याउनुपर्ने बताएको छ।
यो उपायले ईयूमा रहेका युक्रेनीहरूलाई रोजगार बजार, चिकित्सा हेरचाह र शिक्षामा पहुँच प्रदान गर्नेछ। यो प्रस्तावलाई अब इयूका सबै २७ देशले अनुमोदन गर्नुपर्नेछ। तर त्यहाँ विरोध हुने संकेत नदेखिएकाले प्रस्ताव पास हुने अनुमान गरिएको छ।
गत वर्ष लाखौं युक्रेनी नागरिकको अचानक विस्थापनले दोस्रो विश्वयुद्धपछि युरोपले सामना गरिरहेको सबैभन्दा तीव्र गतिमा बढिरहेको शरणार्थी संकटको प्रतिनिधित्व गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।