काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अझै २० वर्ष सक्रिय रहने विचार गरेको बताएका छन्। शनिबार ‘बासँग विद्यार्थी’ कार्यक्रममा विद्यार्थीले सोधेको प्रश्नको जवाफ दिँदै उनले २० वर्ष नेतृत्वमा भने नरहने बताए।
‘मैले २० वर्ष त सक्रिय रहने विचार गरेको छु, अझै। तर २० वर्ष सक्रिय रहनुको अर्थ म २० वर्षै देश र पार्टीको नेतृत्व गर्छु भनेको होइन। नेतृत्व गर्नेहरूलाई सहयोग गर्छु सक्रिय रहेर’, उनले भने।
ओलीले २०७६ भदौ ४ गते आयोजित एक कार्यक्रममा आफू अझै १५ वर्ष अखडामा रहने बताएका थिए। उनी प्रधानमन्त्री रहेकै बेलामा उनले विरोधीले आफूलाई मरिहालोस् भनेर प्रचार गरेको उल्लेख गर्दै आफू अझै १५ वर्ष मैदानमै रहने बताएका थिए।
शनिबारको कार्यक्रममा उनले मान्छे बाँचुञ्जेलसम्म पद छाड्न नखोज्ने र पदमा टाँसिन खोज्ने प्रवृत्ति रहेको बताए। ‘आवश्यकता होस् कि नहोस्। काम गर्न सकोस् कि नसकोस्। स्मरण शक्ति होस् कि नहोस्। बोल्न सकोस् कि नसकोस्। तर पनि पदमा बसिरहन चाहने प्रवृत्ति छ’, उनले भने, ‘त्यो प्रवृत्तिलाई मैले सचेतनतापूर्वक तोड्न चाहन्छु। आफू सक्रिय रहँदारहँदै कार्यभार अरुलाई सुम्पिएर सहयोग गर्ने, देश चलाउनका लागि।’
ओलीले पछिल्लो पटक ट्रान्सप्लान्ट गरेको किड्नीले धेरै राम्ररी काम गरिरहेको अनुभव सुनाए। अहिले कुनै प्रकारको समस्या नभएको उनको भनाइ छ। त्यसक्रममा उनले आफू बुबा पनि सक्रिय नै रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।