काठमाडौं- नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौताको अनुगमन गर्न समिति बनाउने भएको छ। भदौ ५ देखि ७ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयबारे अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अपानिमा उक्त निर्णय उल्लेख गरिएको छ।
एमसीसी सम्झौता कार्यान्वयको संसदीय अनुगमन गर्न आवश्यक रहेको निष्कर्ष नेकपा एसको छ। जसको पहल गर्न र पार्टीका तर्फबाट पनि अनुगमन गर्न पार्टीले अनुगमन समिति बनाउने निर्णय बैठकले गरेको छ। बैठकले उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्व समितिमा समिति बनाउने निर्णय गरेको थियो। उक्त समितिमा उपमहासचिव गंगालाल तुलाधर र जगन्नाथ खतिवडा र सचिव गरिमा शाह पनि रहेका छन् ।
यसैगरी बैठकले आगामी माघ १४-१८ मा पार्टीको दशौँ महाधिवेशन गर्ने निर्णय पनि गरिएको छ। महाधिवेशनको तयारीका लागि पार्टी पंक्तिमा सर्कुलर पनि गरिएको छ।
पार्टी र जनसंगठनका सबै कमिटीहरूले महाधिवेशनलाई केन्द्रित गरी भदौँ मसान्तसम्म संगठन र प्रचारको योजना बनाएर कार्यान्वयन थाल्ने बताइएको छ। असोजमा एक महिना देशभर रुपान्तरणकारी एजेण्डाका साथ ‘नेकपा एकीकृत समाजवादी का मुद्दाहरू राष्ट्रलाई सुनाउने’ उद्देश्यसहित राष्ट्रिय अभियान आयोजना गर्ने र पार्टीको केन्द्रीय सचिवालयले यसको विस्तृत योजना तयार गर्ने अपानिमा उल्लेख गरिएको छ।
बैठकले २१ केन्द्रीय सदस्य थप पनि गरेको छ। केन्द्रीय कमिटीको बैठकको निर्णयबाट जानकारी दिन वितरित अन्तरपार्टी निर्देशनमा थपिएका केन्द्रीय सदस्यहरूको विवरण उल्लेख छ। बैठकले पूर्वकृषिमन्त्री हरि पराजुलीलाई सचिवमा मनोनीत गरेको छ।
केन्द्रीय सचिवालयको छैटौँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजन गरेको छ। यसपटक संघीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इञ्चार्ज बनाउन गरी कार्यविभाजन गरिएको सो पार्टीद्वारा सम्प्रेषित अन्तरपार्टी निर्देशनमा भनिएको छ।
अध्यक्ष माधवकुमार नेपालले समग्र पार्टी कामको नेतृत्व र महासचिव घनश्याम भूसालले समग्र सांगठनिक कामको अनुगमन र मोर्चा संगठनका कामको विशेष अनुगमन गर्नेछन्। पार्टी गठन गर्दाताकाकी चर्चित सचिव रामकुमारी झाँक्रीलाई भने युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जको जिम्मेवारी दिइएको छ।
अपानि
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।