बैतडी : दार्चुलामा करिब ९ किलो लागुऔषध चरेससहित बैतडीका दुई जना पक्राउ परेका छन्।
मंगलबार जिल्लाको शैल्यशिखर नगरपालिका–९ नायलबाट एक महिला र पुरुष चरेससहित पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–४ भटनाकी ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षिय जयबहादुर धानुक रहेका छन्।
भावनाले बोकेको कालो झोलाबाट ६ किलो र जय बहादुरले बोकेको झोलाबाट २ किलो ८ सय ५० ग्राम चरेस बरामद गरिएको प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्चार्ज एवं प्रहरी निरीक्षक मानसिंह ऐरीको टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट झण्डै ९ किलोग्राम चरेस बरामद गरि पक्राउ गरिएको हो।
दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले बताए। उनीहरुले सो चरेस बझाङबाट ल्याएर भारतको झुलाघाट लैजान लागेको बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।