डडेल्धुरा– जिल्लाको अमरगढी नगरपालिका जिल्लामै तरिकारी खेतीमा अग्रसर स्थानीय तह हो। जहाँको तरकारी सुदूरपश्चिम प्रदेशका ९ जिल्ला मात्र हैन, बाहिर प्रदेशमा समेत बिक्री वितरण हुने गरेका छन्।
तर सिँचाई सुविधा घट्दै गएपछि अमरगढी नगरपालिका–७ का कृषकलाई समस्या भएको छ। विस २०२९ मा निर्मित सुदूरपश्चिमको सबैभन्दा बढी करिब २० लाख लिटर क्षमताको सिँचाइ पोखरी फुटेपछि जीर्ण बनेको १५ वर्ष भयो। तर मर्मत गर्ने कुनै सुरसार भएन।
सङ्घीयतापछि बल्ल थोरै भए पनि बजेट विनियोजन भएपछि यसलाई बहुउपयोगी बनाउने सोच अगाडि सारिएको छ। अमरगढी नगरपालिका–७ का करिब एक दर्जन गाउँको हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने उद्देश्यले निर्माण गरिएको पोखरी खासै कहिल्यै पनि प्रयोगमा आएन।
सुरुमा पोखरी निर्माण भए पनि उद्देश्य अनुसार गाउँ–गाउँमा योजना विस्तार नै हुन सकेन। उद्देश्य अनुसार रित्तो रहँदा जीर्ण भएको पोखरी पुनर्निर्माणका लागि पहिलो पटक २०५९ सालमा नौ लाख रुपियाँमा टेन्डर भयो।
२०६६ साल असोजमा भएको अविरल वर्षापछि पोखरीमा दरार आइ फुट्यो। त्यसयता जीर्ण बनेको पोखरी निर्माणका लागि गत वर्ष पाँच लाख रकम बजेट थियो तर पाँच लाख रकमले के काम गर्ने भन्ने नै टुङ्गो नलाग्दा रकम फिर्ता भयो।
स्थानीयले ठूलो क्षमता भएको पोखरीमा रकम कम भएकाले काम पूर्ण नहुने भन्दै काम गर्ने छोडेका हुन्। जीर्ण पोखरी बहुउपयोगी बनाउन पुनर्निर्माण बजेटका लागि बजेट विनियोज गरिएको सुदूरपश्चिम प्रदेश सभा सदस्य डा ताराप्रसाद जोशीले बताए।
चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशबाट ३० लाख रुपैयाँ विनियोजन भएको प्रदेश सभा सदस्य जोशीले जानकारी दिए। बहुउपयोगी पोखरी निर्माण गर्न करिब एक करोड रुपैयाँ आवश्यक पर्ने भए पनि पहिलो चरणमा ३० लाख मात्रै विनियोजन भएको उनको भनाइ छ।
सिँचाइ मात्रै नभई अब यो पोखरीलाई माछापालन, स्विमिङ र खानेपानी गरेर बहुउपयोगी तौरतरिकाबाट निर्माण गर्नुपर्ने उनको भनाइ छ। तीनतले पोखरी निर्माण गरेर स्थानीय परम्परागत भाँडावर्तनको आकार र त्यसमाथि माछाको आकार बनाई खानेपानी ट्याङ्की बनाउन प्राविधिकसँग समन्वय भएको उनले बताए।
सबैभन्दा माथि खानेपानी, दोस्रो भागमा पौडी र सबैभन्दा मुनिको ट्याङ्कीमा सिँचाइ र माछापालन गर्न सकिने गरेर पोखरीको निर्माण गरिने उनको भनाइ छ। बहुउपयोगी तरिकाको पोखरी बनाउन सके आकर्षणको केन्द्रविन्दुसमेत हुन सक्ने उनले बताए।
यसअघि पनि २०६१ सालपछि पोखरीमा माछापालनसँगै पौडी खेल्न ‘कस्टम’ राखेर शुल्क लिने गरिएको थियो भने छेउमा रेस्टुरेन्ट पनि सञ्चालन गरिएको स्थानीय गणेश साँकीले बताए।
पोखरीको हालको लम्बाइ ३१.४ मिटर, चौडाइ २४.६ मिटर र उचाइ २.३५ मिटर छ। यो पोखरी डडेलधुरा–बैतडी जोड्ने मुख्य महाकाली राजमार्गसँगै जोडिएको भएकाले अब सडकको मापदण्ड अनुसार १५ मिटर छोड्नुपर्ने छ।
अब निर्माण गर्दा वर्गाकारको हुने डिजाइन स्टिमेट गरिरहेको इन्जिनियर श्यामकुमार बाडेले बताए। उनका अनुसार अब २४.५ मिटर वर्गाकार र उचाइ पुरानै कायम गर्न सकिन्छ। अब यसको क्षमता करिब १४ लाख लिटरको हुने छ।
के भन्छन कृषक?
उपयोगी पोखरी निर्माण गर्न सके यस क्षेत्रको कृषिसँगै अन्य यवसायमा ठूलो टेवा पुग्ने उनको विश्वास छ। हजारौं रोपनीमा कृषि हुने पोखरा क्षेत्रका कृषक वर्षौंपछि पुनः निमार्ण हुने भएपछि हर्षित भएका छन्।
कृषक भत्त साहुले भने, सिँचाइ अभावले बाझो छोडेको जग्गामा अब कृषि खेती हुने भयो, सिँचाइ अभावले उत्पादन कम हुने गरेको थियो अब नगदेबाली र तरकारी खेतीको उत्पादन बढ्ने विश्वास छ।
बेमौसमी तरकारी उत्पादन गर्ने किसानलाई पानि नपुग्दा समस्या भएको अर्का कृषक विष्णु भाटले बताए। उनले सिँचाइ सुविधा वैशाख, जेठ लगायतका महिनामा बिरुवाले पाउन मुस्कील भएकाले त्तकाल मर्मत भए समस्या केही हदसम्म समाधान हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।