काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले बुधबार काठमान्डु गोर्खाजविरुद्ध २९ रनको जित निकालेको छ ।
जितका लागि १ सय ४८ रन पछ्याएको काठमान्डु १६.५ ओभरमा अलआउट हुँदै १ सय १८ रनमै समेटियो । यो जितपछि सुदूरपश्चिमको एक खेलबाट दुई अंक भएको छ । काठमान्डुको पनि दुई खेलबाट दुई अंक नै छ । काठमान्डुले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई हराएको थियो ।
काठमान्डुका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ३० बलमा ३४ रन बनाए । यस्तै जोन सिमसनले १८ बलमा २४ रनको योगदान गरे भने भीम सार्कीले १२ र मिलिन्द कुमारले ११ रने जोडे ।
सुदूरपश्चिका बलरमध्ये हेमन्त धामी, स्कट कुग्लेन र हरमितले दुई दुई विकेट लिए ।
त्यस अगाडि पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा सबै विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । खराव सुरुआत लिएको सुदूरपश्चिमले सम्हालिँदै चुनौतीपूर्ण लक्ष्य तयार पार्न सफल भएको हो ।
गत वर्षको उपविजेता सुदूरपश्चिमका लागि हरमित सिंहले सर्वाधिक ५३ रन बनाए । उनले २० बलको मात्र सामना गरेर दुई चौका र चार छक्का प्रहार गरे । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले ३० बलमा ३९ रनको योगदान दिए । काठमान्डुका लागि करण केसीले ३० रन खर्चेर चार विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।