काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)मा ४० प्रतिशतभन्दा बढी सदस्यले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्नुपर्ने मागसहित विशेष साधारण सभा बोलाउन माग गरेका छन्।
सोमबार हस्ताक्षरसहितको निवेदन उनीहरूले एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई बुझाएका छन्। संघको विधानको धारा ३६ (३) मा ४० प्रतिशत भन्दा बढी सदस्यको हस्ताक्षरसहित निवेदन आएमा विशेष साधारण सभा बोलाउनुपर्ने व्यवस्था रहेको छ। संघले ३० दिनभित्र विशेष साधारण सभा नबोलाएमा अन्य सदस्य संस्थाले नै संयुक्त रुपमा ३० दिनको सूचना जारी गरि साधारण सभा बोलाउन पाउने छ।
क्लब, जिल्ला फुटबल संघ तथा महिला फुटबल संघ गरी कुल ४९ साधारण सभा सदस्यले हस्ताक्षर गरेको निवेदनमा एन्फाका वर्तमान अध्यक्ष र महासचिवले नेपाली फुटबललाई धराशयी बनाएको आरोप लगाइएको छ। उनीहरूलाई सो पदमा निरन्तरता दिँदा नेपालको फुटबल भविष्यमा नै अतुलनीय क्षति पुग्ने भन्दै उनीहरूले १८ बुँदे माग अघि सारेका छन्।
अध्यक्ष र महासचिवले नेपाली फुटबल तथा एन्फाको अन्तर्राष्ट्रिय छविमै दाग लाग्नेगरी फिफा विश्वकप कतारको खेलका टिकटहरू राजनीतिक अनुग्रह प्राप्त गर्नका लागि एएफसी पदाधिकारीलाई अनाधिकृतरूपमा प्रदान गरी भ्रष्ट व्यवहारमा संलग्न भएको आरोप उनीहरूले लगाएका छन्।
वर्तमान नेतृत्वले शहिद स्मारक लिगको संरचना बिगारेको, राष्ट्रियसहितका लिगहरू आयोजना गर्न नसकेको, डिभिजन क्लबहरूको मताधिकार कुण्ठित गरेको लगायतका आरोप निवेदनमार्फत् लगाइएको छ। नेपाली फुटबललाई धराशयी बनाएको तथा क्लब एकेडेमी सञ्चालनमा बेवास्ता गरेको तथा ग्रासरूट कार्यक्रम सञ्चालन गर्न नसकेको आरोप उनीहरूको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।