काठमाडौं- आरएम ग्रुपअन्तर्गतको मल्टी इनर्जी डेभलपमेन्टले रसुवाको गोसाईंकुण्ड गाउँपालिकामा निर्माण गर्न लागेको लाङटाङ हाइड्रोपावरका लागि लगानी जुटेको छ।
राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको हो।
२० मेगावाट क्षमताको उक्त आयोजनाका लागि सनराइज बैंकको अगुवाइमा चारवटा बैंकले लगानी गर्ने भएका छन्। सिद्धार्थ बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक र जनता बैंक सहायक लगानीकर्ता छन्।
कार्यक्रममा मल्टी इनर्जी डेभलपमेन्टका अध्यक्ष कृष्ण आचार्य र नेतृत्वकर्ता सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बजाचार्यले सम्झौताको प्रति आदानप्रदान गरे।
आयोजनाको कूल लगानी चार अर्ब पाँच करोड हुने प्रक्षेपण गरिएको छ। शेयरधनीबाट १ अर्ब ३२ करोड र बैंकको २ अर्ब ७३ करोड ४० लाख लगानी हुने मल्टी इनर्जीका अध्यक्ष आचार्यले जानकारी दिए।
सम्झौताअनुसार लगानीको अगुवाई गरेको सनराइज बैंकले १ अर्ब २ करोड ५२ लाख, सिद्धार्थ बैंकले ७६ करोड ९० लाख, एनसिसी बैंकले ५२ करोड २३ लाख र जनता बैंकले ४२ करोड ७३ लाख रुपैयाँ ऋण उपलब्ध गराउनेछन्।
आयोजनाको सम्भाव्यता अध्ययन, विद्युत खरीद बिक्री सम्झौता, वातावरणीय प्रभाव अध्ययन मूल्यांकन लगातका काम सम्पन्न भएपछि वित्तीय व्यवस्थापन सम्झौता भएको हो। साविकमा १० मेगावाट क्षमताको उक्त आयोजनाको अध्ययनका क्रममा १० मेगावाट क्षमता थप गरिएको थियो।
आयोजनाको सिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइनलगायत मुख्य संसरचना निर्माणका लागि चिनियाँ कम्पनी छोङगिङ वाटर टर्वाइन वक्र्स(सीडब्लुटीडब्लु)सँग ठेक्का सम्झौतासमेत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।
सम्झौताअनुसार ठेकेदार कम्पनीलाई सुरुमा कूल लागतको १० प्रतिशत र आयोजनाबाट विद्युत उत्पादन सुरु भएको ७ सय दिन पछि बाँकी रकम उपलब्ध गराइने छ।
आयोजनाको काम सम्पन्न भएपछि मात्र रकम भुक्तानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्झौता गरिएको लाङटाङ खोला नेपालकै पहिलो आयोजना भएको दाबी अध्यक्ष आचार्यको छ।
आगामी २०७७ साल पुस महिनाभित्र आयोजनाको निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।