काठमाडौं– सबै बन्दरगाहमा पारवहन पहुँच दिन नेपालले चीनसमक्ष प्रस्ताव गरेको छ। नेपाल र चीनबीच बुधबारदेखि सुरु भएको पारवहन प्रोटोकलसम्बन्धी बैठकमा नेपालले सबै सामुद्रिक तथा सुक्खा बन्दरगाहमा पारवहन सुविधा दिन चिनीयाँ पक्षसँग आग्रह गरेको हो।
२०७२ चैतमा नेपाल र चीनबीच भएको व्यापार तथा पारवहन सम्झौता कार्यान्वयनका लागि प्रोटोकल टुंग्याउने विषयमा काठमाडौंमा द्धिपक्षीय छलफल जारी छ।
अढाइ वर्षअघि नै चीनसँग व्यापार तथा पारवहन सम्झौता भए पनि त्यसको कार्यान्वयनका लागि प्रोटोकलको विषय भने टुंगिएको थिएन।
उक्त छलफलमा नेपालले खासगरी बन्दरगाह र सडक/रेलमार्गको पहुँच पाउने विषयमा प्रस्ताव राखेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालका सहसचिव नवराज ढकालले बताए।
जारी बैठकले चीनको मार्ग हुँदै तेस्रो मुलुकसँग व्यापार गर्नेसम्बन्धी सम्झौता कार्यान्वयन गर्न मूलतः बन्दरगाह र रुटका विषयलाई अन्तिम रुप दिनेछ।
नेपालजस्तो भूपरिवेष्ठित मुलुकको व्यापार पहुँचका लागि सामुद्रिक बन्दरगाह उपयोग गर्न पाउने अन्तर्राष्ट्रिय कानून भए पनि नेपालले हालसम्म चीनका बन्दरगाह उपयोग गर्न पाएको छैन।
भूपरिवेष्ठित मुलुकलाई सामुद्रिक पहुँच दिनेसम्बन्धी अन्तर्राष्ट्रिय कानून ‘ल अफ सी, १९८२’ ले भूपरिवेष्ठित मुलुकका लागि निर्वाध सामुद्रिक पहुँचको विशेषाधिकारको व्यवस्था गरेको छ। तर, हालसम्म नेपालले भारतीय बन्दरगाहकोमात्र उपयोग गर्दै आएको छ।
‘बैठकले यसअघिको व्यापार तथा पारवहन सम्झौता कार्यान्वयनका लागि तेस्रो मुलुकबाट कुन बाटो हुँदै आयात गर्ने, कुन सामुन्द्रिक वा सुक्खा बन्दरगाह प्रयोग गर्ने, चीनका सवारी नेपालको कहाँसम्म आउने र नेपालका सवारी चीनको कहाँसम्म पुग्ने लगायतका विषय टुंग्याउनेछ,’ मन्त्रालयका सहसचिव ढकालले भने।
जारी बैठकले प्रोटोकलमा सहमति गरी हस्ताक्षर गरेपछि सम्झौता कार्यान्वयनको बाटो खुल्नेछ।
‘हामीले खुला हृदयले पारवहन सुविधाका विषय उठाएका छौं,’ ढकालले भने, ‘चीन पक्षबाट पनि सकारात्मक प्रतिक्रिया आएको पाएका छौं।’
नेपालका लागि नजिकका तियानमेन, सेन्जेन, झ्यान्जेन लगायतका बन्दरगाह बढी उपयुक्त र प्रभावकारी भए पनि नेपालले सबै बन्दरगाहमा पहुँचको प्रस्ताव राखेको छ। त्यस्तै, सुक्खा बन्दरगाहको हकमा सिगात्से बढी प्रभावकारी देखिए पनि यस विषयमा पनि नेपालले सबै स्थानका लागि प्रस्ताव अघि सारेको छ।
चीनबाट पनि सबै बन्दरगाह उपयोग गर्न दिनेसम्मको उदारता प्रकट भएको बैठकमा सहभागी अधिकारीहरू बताउँछन्।
छलफलमा कुन वस्तु आयात तथा निर्यात गर्न पाउने भन्ने विषयलाई पनि टुंग्याइने मन्त्रालयले बताएको छ।
नेपाललाई यस्तो फाइदा
चीनसँगको सम्झौता कार्यान्वयनको तहमा आए यसबाट नेपालको अन्तर्राष्ट्रिय व्यापार सहज हुनेछ। हाल नेपालले भारतीय बन्दरगाह हुँदै तेस्रो मुलुकसँग व्यापार गर्दै आएको छ। यदि प्रोटोकलमा सहमति जुटेर सम्झौता कार्यान्वयन भए अन्तर्राष्ट्रिय व्यापारमा भारतसँगको निर्भरता हट्नेछ।
चीनसँगको व्यापार तथा पारवहन सम्झौता कार्यान्वयनले तेस्रो मुलुकबाट वस्तु आयात गर्दा लाग्ने ढुवानी खर्चमा पनि कमी आउनेछ भने निर्यातका लागि पनि चीनको बाटो खुल्नेछ।
सम्झौता कार्यान्वयन भए खासगरी दक्षिण कोरिया, जापानलगायतका मुलुक र ती मुलुकका पनि नजिकका मुलुकसँग नेपालको व्यापारीक सान्निध्य बढ्ने अपेक्षा सरकारको छ।
चीनको चासो सुरक्षामा
नेपालको तर्फबाट बन्दरगाह र रुटका विषयमा चासो देखाइँरहँदा चीनले पनि नेपालका तर्फबाट केही अपेक्षा राखेको मन्त्रालयका अधिकारीहरू बताउँछन्। चीनले खासगरी सम्झौता कार्यान्वयनको प्रक्रिया र सुरक्षाको विषय उठान गरेको छ।
नेपालको तयारी सुस्त
चीनतर्फका लागि पारवहन सुविधाको विषयमा चर्चा हुने गरे पनि नेपालको आफैंतर्फको भने प्रयास सुस्त छ।
चीन तथा चीन हुँदै तेस्रो मुलुकसँगको व्यापार तथा पारवहन पहुँचका लागि नेपालले रसुवा र तातोपानीमा सुक्खा बन्दरगाह निर्माण र अन्य सडक मार्गको स्तरोन्नती गरिरहे पनि यसको गति भने सुस्त देखिएको छ।
सन् २०१२ मा नेपाल र चीनबीच भएको सम्झौताले नेपालको रसुवा, तातोपानी र पुरानयारी रुटलाई अन्तर्राष्ट्रिय रुटको मान्यता दिएको थियो। अहिले पारवहनका लागि चीनसँग जोडिएका र उपयुक्त देखिएका ६ वटै व्यापारिक रुट प्रयोग गर्नेगरी नेपालले छलफल अघि बढाएको छ। यद्यपि, नेपालतर्फको पूर्वाधार नाजुक रहेको मन्त्रालयको स्वीकारोक्ति छ।
पारवहन सम्झौताका लागि जारी बैठक तेस्रो हो। यसअघि सन् २०१६ मा चीनको ल्हासामा पहिलो बैठक बसेको थियो। त्यसपछि गत जुलाइमा चीनमा दोस्रो बैठक बसेको थियो।
जारी वार्तामा चीनको यातायात विभागका महानिर्देशक सहितको टोली सहभागी छ भने नेपालकातर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर शैंजुको नेतृत्वमा परराष्ट्र, अर्थ, कृषि मन्त्रालय, इन्टरमोडल यातायात विकास समिति र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र लगायत निकायका प्रतिनिधि सामेल छन्।
बैठक शुक्रबारसम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।