काठमाडौं– आइतबार कृषि तथा पशुपंक्षी विकासमन्त्री डा वेदुराम भुसालले यसवर्ष एक लाख हेक्टर जमिनमा चैते धान लगाउने तयारीबारे जानकारी गराए। सिँचाइको समस्या समाधान गर्दै चैते धानको खेती हुने क्षेत्रफल बढाउने सरकारको योजना रहेको उनको भनाइ थियो।
उनले चैते धान खेती बढाउने सरकारी योजना रहेको बताउँदै गर्दा यता वर्षे धानकै रोपाइँ क्षेत्रफल घट्दै गइरहेको तथ्यांक स्वयं कृषि मन्त्रालयसँगै छ। गत वर्षको साउन २८ गतेसम्म ९५ प्रतिशत रोपाइँ भएको थियो। तर यसवर्ष भदौ ११ गतेसम्म आइपुग्दा मात्र उक्त प्रतिशतमा रोपाइँ भयो।
यति मात्र नभइ गत वर्षको तुलनामा यसवर्ष धान रोपाइँ ढिला मात्र होइन, रोपाइँ क्षेत्र पनि घटेको छ। ‘यस वर्षको रोपाइँ हेर्दा उत्पादकत्वमा समस्या हुने देखिको छ। रोपाइँ नै ढिलो भएको छ, यसले उत्पादकत्वमा प्रत्यक्ष असर पार्छ,’ मन्त्री भुसाले पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै भने, ‘त्यसमा पनि रोपाइँ हुने क्षेत्रफल केही घटेको पाइएको छ।’
गतवर्ष १५ लाख ४ हजार ९९० हेक्टरमा रोपाइँ भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। यसवर्ष १६ हजार ९४०.९ हेक्टर रोपाइँ क्षेत्र घटेर १४ लाख ८८ हजार ४९.१ हेक्टर मात्रै रहेको छ। यसवर्ष भदौ ११ सम्म १४ लाख ७ हजार ७ सय ९१ हेक्टरमा मात्रै रोपाइँ भएको छ। अर्थात् २० हजार ११० हेक्टरमा रोपाइँ भएको छैन।
गतवर्ष १५ लाख ४ हजार ९ सय ९० हेक्टरमा रोपाइँ हुने मन्त्रालयको दाबी थियो। तर साउन २८ सम्म १४ लाख २७ हजार ९ सय २ हेक्टरमा रोपाइँ भएको थियो।
मधेसमै घट्यो २० हजार हेक्टर
सबैभन्दा धेरै धान फल्ने मधेश प्रदेशमै रोपाइँ क्षेत्र घटेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। यस प्रदेशमा ४ लाख १ हजार ६ सय ५० हेक्टरमा रोपाइँ हुनुपर्नेमा ३ लाख ५८ हजार २ सय ९०.७ हेक्टर अर्थात् ८९ प्रतिशत मात्र रोपाइँ भएको छ। जसअनुसार मधेशमा रोपाइँ हुने क्षेत्रफल पनि २० हजार हेक्टरले घटेको छ। गतवर्ष मधेशमा ३ लाख ७८ हजार ३ सय ५६ हेक्टरमा रोपाइँ भएको थियो। मधेशमा रोपाइँ घट्दा समग्र रोपाइँको प्रतिशतमा प्रभाव परेको देखिन्छ।
कोशी प्रदेशमा ३ लाख ४० हजार ८२९ हेक्टर रोपाइँ क्षेत्रमध्ये ३ लाख ३२ हजार ८९६.६७ हेक्टरमा रोपाइँ भएको छ। यो ९८ प्रतिशत हो। बागमतीमा ९३ प्रतिशत रोपाइँ भएको छ। १ लाख १३ हजार ५२३ हेक्टर कुल रोपाइँ क्षेत्र हो भने १ लाख ५ हजार ९६४ हेक्टरमा रोपाइँ भएको छ। गण्डकीमा ९५ प्रतिशत अर्थात् ९३ हजार २८९ हेक्टरमा रोपाइँ भएको छ। ९७ हजार ८५१ हेक्टर यस प्रदेशको कुल रोपाइँ क्षेत्र हो।
लुम्बिनी प्रदेशमा ९५ प्रतिशत रोपाइँ भएको छ। यस प्रदेशमा ३ लाख ११ हजार ४२ हेक्टरमा रोपाइँ क्षेत्र रहेको छ। यसमध्ये २ लाख ९५ हजार ४ सय ७ हेक्टरमा रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ। कर्णाली प्रदेशमा ९९ प्रतिशत अर्थात् ४४ हजार ७ सय १४ हेक्टरमा रोपाइँ भएको छ। ४५ हजार ३८७.१२ हेक्टर यस प्रदेशको कुल रोपाइँ क्षेत्र हो। सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ भएको छ। यस प्रदेशमा १ लाख ७७ हजार ७ सय ६७ हेक्टरमा रोपाइँ क्षेत्र रहेकोमा यस वर्ष १ लाख ७७ हजार २ सय २९ हेक्टरमा रोपाइँ भएको छ।
एक लाख हेक्टरमा चैते धान लगाउने योजना
मन्त्री भुसालले उत्पादन र आयात प्रतिस्थापनका लागि चैते धान खेती बढाउने सरकारको योजना रहेको सुनाए। तर अधिकांश खेतीयोग्य जमिनमा सिँचाइको सुविधा नपुग्नु उत्पादन वृद्धि नहुनुको प्रमुख कारण रहेको उनको भनाइ छ।
मन्त्रालयका अनुसार वर्षायाममै पनि ४८ प्रतिशत जमिनमा मात्रै सिँचाइ हुने गरेको छ। १८ प्रतिशत जमिन मात्रै सदाबहार सिँचाइ हुँदै आएको बताउँदै मन्त्री भुसालले सिँचाइको समस्या समाधान गर्नु नै पहिलो काम रहेको बताए।
‘कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको सिँचाइको हो,’ मन्त्री भुसालले भने, ‘अहिले पनि हाम्रो खेतीयोग्य जमिनको आधा पनि सिँचाइ हुन सकेको छैन। ४८ प्रतिशत छ त्यो पनि वर्षा याममा मात्रै, नत्र सधैँभर सिँचाइ हुने क्षेत्र भनेको १८ प्रतिशत, त्यसैले यो समस्या छ। ती समस्याको क्रमशः समाधान गर्दै जानुपर्छ। यस वर्ष चैते धान १ लाख हेक्टर क्षेत्रफलमा लगाउन सक्नुपर्छ भनेर सुरु गरेका छौं।’
राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा रामवरण यादवले पनि अहिले १ लाख २० हजार हेक्टरमा चैते धान खेती भइरहेको बताए। नेपाल धानमा आत्मनिर्भर हुनलाई चैते धानखेतीलाई प्राथमिकता दिइएर २.५ देखि ३ लाख हेक्टर पुर्याउनुपर्ने यादवको भनाइ छ।
‘यस्तो लक्ष्य राखेको जग्गामा लगभग ३० प्रतिशत हाईब्रिड धानका जातहरु र बाँकीमा इनब्रेड उन्नत जातहरुलाई प्रयोग गरियो भने हाल अपुग १५ लाख ९० हजार मेट्रिक टन धान सहजै उत्पादन गर्न सकिन्छ,’ यादवले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।